पुडुचेरीका तीन क्रिकेटरहरू जे. कार्थियेयन, ए. अरविन्दराज र एस. सन्तोष कुमारन लाई पुडुचेरी क्रिकेट संघले ‘सबै प्रकारका क्रिकेट गतिविधि’ बाट निलम्बन गरेको छ। उनीहरूमाथि १९ वर्षमुनिको टोलीका प्रशिक्षकमाथि गम्भीर कुटपिट गरेको आरोप लागेको छ।
क्रिकेट संघका अनुसार यी तीन खेलाडीहरूले पुडुचेरीको यू-१९ टोलीका प्रशिक्षक मिस्टर वेङ्कटरमनमाथि आक्रमण गरेका थिए। उनीहरूमाथि 'ज्यान मार्ने उद्योग' र कुटपिटको गम्भीर फौजदारी मुद्दा दर्ता गरिएको छ। यो घटना ८ डिसेम्बर २०२५ मा भएको थियो।
यस विषयमा पुडुचेरीको सेदुरापेट प्रहरी चौकीमा औपचारिक उजुरी दर्ता भइसकेको छ। हाल यो मुद्दा पुडुचेरीको न्यायिक मजिस्ट्रेट अदालतमा विचाराधीन छ।
आरोपको गम्भीरतालाई हेर्दै क्रिकेट संघले उनीहरूमाथि तत्कालै लागू हुने गरी संघका कुनै पनि क्रिकेट प्रतियोगिता वा गतिविधिमा सहभागी हुन नपाउने गरि निलम्बन गरेको छ।
पुडुचेरी क्रिकेट संघको कार्यालय, रंगशाला र संघको नियन्त्रणमा रहेका कुनै पनि स्थानमा प्रवेश गर्न पूर्ण रोक समेत लगाइएको छ।
घरेलु वा बाह्य कुनै पनि क्रिकेट प्रतियोगितामा पुडुचेरीको प्रतिनिधित्व गर्न नपाउने पनि अर्को निलम्बन छ।
अदालतले यो मुद्दाको फैसला नगरेसम्म र उनीहरूलाई निर्दोष साबित नगरेसम्म यो निलम्बन कायमै रहनेछ।
पुडुचेरीको टोलीले हालै रणजी ट्रफी (२०२५-२६) खेलेको थियो, जहाँ सात खेलमध्ये एकमा जित निकाल्दै उनीहरू समूह 'डी' को छैटौँ स्थानमा रहेका थिए।