क्यानडाको सार्वजनिक प्रसारक सिबिसीले प्रसारण गरेको एक वृत्तचित्र 'करप्सन, क्राइम एन्ड क्रिकेट' ले क्रिकेट जगतमा तरंग ल्याइदिएको छ।
यस वृत्तचित्रले हालै सम्पन्न टी-२० विश्वकपमा क्यानडा र न्युजिल्यान्डबीचको खेलमा भ्रष्टाचार भएको दाबी गरेपछि आइसिसीको भ्रष्टाचार विरोधी इकाई ले अनुसन्धान सुरु गरेको छ।
अनुसन्धानको केन्द्रमा क्यानडाका कप्तान दिलप्रित बाजवाको एउटा ओभर छ। न्युजिल्यान्डविरुद्धको खेलमा पाँचौँ ओभर बलिङ गर्न आएका २२ वर्षीय बाजवाले पहिलो बल नै नो-बल फालेका थिए भने त्यसपछि लेग साइडमा वाइड पनि फालेका थिए। त्यस ओभरमा उनले कुल १५ रन दिए। रोचक कुरा के छ भने, त्यसअघिका दुई ओभरमा क्यानडाले उत्कृष्ट बलिङ गर्दै न्युजिल्यान्डका दुई विकेट लिएर खेलमा दबाब बनाएको थियो। तर, बाजवाको यो ओभरपछि खेलको लय नै बदलियो। बाजवा प्रतियोगिता सुरु हुनुभन्दा ३ हप्ताअघि मात्र कप्तान नियुक्त भएका थिए।
नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक समेत रहेका पुबुदु दासनायकेले पनि क्यानडा क्रिकेट बोर्डमाथि गम्भीर आरोप लगाएका छन्। दासनायकेका अनुसार २०२४ को टी-२० विश्वकपका लागि टोली छनोट गर्दा बोर्डका सदस्यहरूले उनलाई आफूले चाहेका खेलाडी राख्न ‘जबरजस्ती’ दबाब दिएका थिए। जब उनले बोर्डको कुरा मानेनन्, उनलाई बर्खास्त गर्ने धम्की दिइयो। दासनायकेले अहिले क्यानडा क्रिकेटविरुद्ध मुद्दा पनि दायर गरेका छन्।
अर्का पूर्व प्रशिक्षक खुर्रम चोहानको एक अडियो रेकर्डिङ पनि बाहिरिएको छ, जसमा बोर्ड सदस्यले टोली छनोटमा हस्तक्षेप गरेको र म्याच फिक्सिङको प्रयास गरेको दाबी गरिएको छ।
क्यानडा क्रिकेट भित्रको अवस्था निकै दयनीय देखिएको छ। केही समयअघि नियुक्त भएका सिइओ सलमान खानमाथि चोरी र ठगीको आरोप लागेपछि उनलाई हटाइएको छ। यति मात्र होइन, एक पूर्व खेलाडीले आफूलाई संगठित अपराधीहरूले धम्की दिएको समेत खुलासा गरेका छन्। आइसिसीका अधिकारी एन्ड्र्यु इफग्रेभका अनुसार यी आपराधिक गतिविधिहरूको अनुसन्धान भने स्थानीय प्रहरीले गर्नेछ।
वृत्तचित्रका अनुसार क्यानडाका खेलाडीले सन् २०२४ को विश्वकपको पुरस्कार राशि अझै पाएका छैनन्। खेलाडीलाई सम्झौताविहीन राखिएको र निकै कम पैसामा खेल्न बाध्य पारिएको दाबी गरिएको छ।
आइसिसीले यी सबै आरोपलाई गम्भीरतापूर्वक लिएको र आफ्नो नियमअनुसार विस्तृत अनुसन्धान भइरहेको बताएको छ। खेलको निष्पक्षतामाथि प्रश्न उठेकाले दोषी पाइएमा क्यानडा क्रिकेटमाथि कडा कारबाही हुन सक्ने देखिएको छ।