प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर अर्जुन कुमालको शतकको मद्दतमा गण्डकी प्रदेशले लुम्बिनीमाथि ८ विकेटको जित निकालेको छ।
आइतबार वीरगञ्जमा भएको खेलमा जित हात पारेसँगै गण्डकी आठ खेलबाट सात अंक जोडेको छ। गण्डकी अंक तालिकामा आठौं स्थानमा छ।
समान अंक जोडेको लुम्बिनी भने नेट रनरेटमा अघि रहँदै सातौ स्थानमा रहेको छ।
आइतबार लुम्बिनीले दिएको २०८ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
गण्डकीका लागि अर्जुनले नटआउट १०३ रन बनाए। जारी प्रतियोगितामा अर्जुनको यो दोस्रो शतक हो। अर्जुनले १३० बल खेलेर १३ चौका र १ छक्का प्रहार गर्न सके। सिब्रिन श्रेष्ठले ४३ रन बनाए।
त्यसअघि लुम्बिनी ४५ ओभरमा २०७ रनमा अलआउट भयो। उसका लागि सन्तोष यादवले ८२ रन बनाए। सलाहुद्दिन खानले ६० रनको योगदान गरे।
बलिङमा गण्डकीका विपिन खत्रीले ४ विकेट लिए भने अप्राजित पौडेलको नाममा ३ विकेट रह्यो।