पन्जाब किंग्सले फेरि एकपटक २०० भन्दा बढीको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।
चण्डीगढमा भएको आईपीएल २०२६ को यस खेलमा पन्जाबले ६ विकेटको सानदार जित निकाल्यो।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले धमाकेदार सुरुवात गर्यो। अभिषेक शर्मा (७४ रन) र ट्राभिस हेड (३८ रन) ले मात्र ६ ओभरमा १०५ रन जोडेका थिए। एक समय हैदराबादले २५० भन्दा बढी रन बनाउने देखिएको थियो।
८ ओभरमा कुनै विकेट नगुमाई १२० रन बनाएको हैदराबादलाई पन्जाबका पार्ट-टाइम बलर शशांक सिंहले रोके। उनले एकै ओभरमा अभिषेक र हेड दुवैलाई आउट गरेर खेलको पासा पल्टाए। त्यसपछि हैदराबादको रन गति सुस्त भयो र टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रन मात्र बनाउन सक्यो।
२२० रनको ठूलो लक्ष्य पछ्याउन मैदान उत्रिएको पन्जाबका लागि प्रियांश आर्य र प्रभसिमरन सिंहले उत्कृष्ट सुरुवात गरे। प्रियांशले मात्र १६ बलमा अर्धशतक (५७ रन) प्रहार गरे भने प्रभसिमरनले ५१ रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ९९ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।
बिचमा केही विकेट झरेपछि खेल रोमाञ्चक बनेको थियो। तर, कप्तान श्रेयस अय्यरले धैर्यताका साथ खेल्दै ४० बलमा ६९ रनको नटआउट इनिङ खेले। उनले छक्का र चौकाको वर्षा गर्दै १ ओभर बाँकी छँदै पन्जाबलाई जित दिलाए। बलिङमा चम्किएका शशांक सिंहले नै विजयी रन प्रहार गरे।
यो जितसँगै पन्जाब किंग्स आईपीएलको इतिहासमा १० पटक २०० भन्दा बढीको लक्ष्य पछ्याउने पहिलो टोली बनेको छ। हैदराबादका लागि शिभाङ कुमारले ३ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
सनराइजर्स हैदराबाद: २१९/६ (२० ओभर) - अभिषेक शर्मा ७४, शशांक सिंह २/२०। पन्जाब किंग्स: २२३/४ (१८.५ ओभर) - श्रेयस अय्यर ६९*, प्रियांश आर्य ५७, प्रभसिमरन ५१। नतिजा: पन्जाब किंग्स ६ विकेटले विजयी।