प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान देव खनालको उत्कृष्ट ब्याटिङको मद्दतमा लुम्बिनी प्रदेशले विजयी सुरूवात गरेको छ।
सोमबार जनकपुरमा भएको खेलमा लुम्बिनी कोशी प्रदेशमाथि १४८ रनको विशाल जित निकालेको हो।
टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी तीन बल खेल्न बाँकी छदा २४९ रनमा अलआउट भयो।
उसका लागि कप्तान देवले १०० बलमा ८ चौका र १ छक्काको मद्दतमा ९२ रन बनाए भने सन्तोष यादवले ४८ रनको योगदान गरे।
बलिङमा कोशीका सुजन थपलियाले ४ विकेट लिए भने दिपेश कँडेलको नाममा २ विकेट रह्यो।
२५० रनको लक्ष्य पछ्याएको कोशी ३१.४ ओभरमा १०१ रनमै अलआउट भयो। कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाउन सके।
बलिङमा लुम्बिनीका सन्तोष यादवले ४ विकेट लिए भने राजेन्द्र बमले ३ विकेट लिन सफल भए।