आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आफ्नो अन्तिम खेलमा स्टल्यान्डलाई पराजित गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो। यसअघि समूह ‘सी’ मा इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएर बाहिरिएको नेपालले चौथो खेलमा जित निकाल्दा २३ बलमा अविजित ५० रन बनाएका दीपेन्द्र सिंह ऐरी 'प्लेयर अफ द म्याच' चुनिए।
उनले खेलपछिको प्रिजेन्टेसनमा भने, ‘सबै समर्थकहरूलाई धेरै धन्यवाद। गत संस्करणको विश्वकपमा हामीले एउटा पनि खेल जित्न सकेका थिएनौँ, त्यसैले यो जित हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। यो मेरो उत्कृष्ट इनिङ्स मध्येको एक हो। इङ्गल्याण्ड विरुद्धको खेल हाम्रा लागि एउटा सिकाई थियो, यो नतिजाले हामीलाई राम्रो भएको छ।’
यस्तै कप्तान रोहितले पनि आजको खेल आफ्नो लागि अर्थपूर्ण भएको बताए।
उनले भने, ‘यो जित मेरो लागि धेरै अर्थपूर्ण छ। कप्तानको रूपमा यो मेरो दोस्रो विश्वकप हो र लिग चरणको अन्तिम खेलमा आएर पहिलो जित निकाल्नु टोलीका लागि निकै महत्त्वपूर्ण थियो। दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै जितको आधार तयार पारे। इङ्गल्याण्ड विरुद्धको खेलपछि पनि समर्थकहरूले टिकट बुक गरेर अन्तिम खेलसम्म हामीलाई जुन साथ दिनुभयो, त्यो प्रशंसनीय छ।’
उनले अघि थपे, ‘विपक्षीलाई १७० रनमा रोक्न हाम्रो 'डेथ ओभर'को बलिङ निकै राम्रो रह्यो। हामीले विकेट लिनुभन्दा डट बल फाल्ने कुरामा बढी ध्यान दियौँ। हामीले जसरी खेल्न चाहेका थियौँ, ठ्याक्कै त्यस्तो त हुन सकेन तर दीपेन्द्र र गुल्सनले खेल जिताएरै छोडे। दीपेन्द्र 'प्लेयर अफ द म्याच'को वास्तविक हकदार हुन्, उनीसँग अद्भुत प्रतिभा छ। हाम्रा बलर र ब्याटर दुवैले धैर्यता कायम राखे। हामीले इङ्गल्याण्ड विरुद्धको खेलबाट धेरै कुरा सिक्यौँ।
उनले टी-२० विश्वकप २०२६ बारे अघि भने, ‘यस प्रतियोगितालाई संक्षेपमा भन्नुपर्दा हामीले इङ्गल्याण्ड र स्कटल्याण्ड विरुद्ध जस्तो खेल प्रदर्शन गरेका थियौँ, त्यस्तै खेल्न चाहन्थ्यौँ। इटाली विरुद्धको खेल हामीले चाहे जस्तो भएन। हामी यहाँबाट अझै सुधार गर्दै अगाडि बढ्ने प्रयास गर्नेछौँ।’
यस्ता बने कीर्तिमान
आइसिसी टी-२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्न सफल भएको छ। मंगलबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा स्कटल्यान्डमाथि समूह ‘सी’ को अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि विश्वकपमा सफलता हासिल गरेको हो।
यसअघि समूहमा इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित हुँदा नेपाल सुपर-८ मा पुग्न असफल भएको थियो। तर स्कटल्यान्डविरूद्धको जितले नेपालको विश्वकपमा सुखद अन्त्य भएको छ।
स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य पूरा गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन जोडे। उनी नेपालका लागि विश्वकपमा सर्वाधिक (दुई) अर्धशतक प्रहार गर्ने खेलाडी बने। यस्तै उनी लगातार दुई अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने। यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए। त्यो अर्धशतक नेपालको विश्वकपमा १२ वर्षपछि (सुवास खकुरेल-२०१४ अफगानिस्तानविरूद्ध) थियो।
उनी विश्वकपमा नेपालका लागि धेरै छक्का प्रहार गर्ने खेलाडी समेत भए। आजै कुशल भुर्तेलले विश्वकपमा आफ्नो छक्काको संख्या ६ पुर्याए पनि ऐरीले भने आफ्नो छक्का सात पुर्याएका छन्।
विश्वकपमा नेपालले हात पारेको तेस्रो जित हो। यसअघि सन् २०१४ मा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। सन् २०२४ मा भने नेपाल जितविहीन बनेको थियो। आजको जितले नेपालको १२ वर्षको जितको प्रतिक्षा अन्त्य भएको छ।
आज स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पूरा गर्दा नेपालले पहिलो विकेटको साझेदारी ७२ रन रह्यो। भुर्तेल र आसिफको साझेदारी विश्वकपमा नेपालको सबैभन्दा ठूलो हो। उनीहरुले स्कटल्यान्डसँग पहिलो विकेटका लागि ९.१ ओभरमा ७२ रनको साझेदारी गरे। यससँग उनीबीच नै इंग्ल्यान्डविरूद्ध ३७ रनको साझेदारी थियो।
त्यसअघि सोमपाल कामीले ३ विकेट लिँदै नेपालका लागि विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने। उनले आफ्नो विश्वकपमा आफ्नो विकेट संख्या १० पुर्याएका छन्। दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीले विश्वकपमा ८ विकेट लिएका छन्।
यता नेपालका लागि एकै इनिङग्समा विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान भुर्तेलको नाममा रह्यो। उनले आज ४ छक्का प्रहार गरे। यसअघि एकै इनिङ्ग्समा सर्वाधिक छक्काको कीर्तिमान ऐरीको नाममा थियो। उनले वेस्ट इन्डिजविरूद्ध ३ छक्का प्रहार गरेका थिए।
नेपालको १२ वर्षको प्रतिक्षा समाप्त
स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन जोडे भने गुल्सन झाले नटआउट २४ रन जोडे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने गुल्सन ले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे।
यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी र लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए।
नेपालले सन् २०१४ मा अफगानिस्तानलाई पराजित गरेपछि विश्वकपमा पहिलो जित निकाल्न सफल भयो।
यसअघि जारी विश्वकपको समूहका तीन खेलमा पराजित हुँदा बाहिरिएको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो।
लक्ष्य पछ्याउँदा खेलमा नेपालले राम्रो सुरूवात गर्यो। नेपालले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले दशौं ओभरको पहिलो बलमा आउट हुनुअघि उनले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन जोड्न सफल भए। उनी नेपालका लागि विश्कवपमा एकै इनिङग्समा सर्वाधिक चार छक्का प्रहार गर्न सफल भए। यो साझेदारी नेपालको विश्वकपमा पहिलो विकेटका लागि उच्च साझेदारी हो।
अर्का ओपनर आसिफ शेखले ३३ रन जोडे। उनले २७ बलमा २ छक्का प्रहार गरेका थिए। उनी १२ ओभरमा आउट हुँदा दुई ओभरपछि पेभिलियन फर्किएका कप्तान रोहित कुमार पौडेलले १६ रन जोडे। रोहितसहित दुवै ओपनरको गरी सुरुवाती तीनै विकेट स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लिए। उनले सुरुवाती तीन ओभरमा तीन विकेट लिँदा १० रन मात्र दिएका थिए। तर १६औं ओभरमा आफ्नो अन्तिम स्पेल गरेका लिस्कलाई दीपेन्द्रसिंह ऐरीले दुई छक्का र एक चौका प्रहार गर्दा उनले गुल्सन झासँग मिलेर कुल २० रन प्रहार गरेका थिए।
त्यसपछि दीपेन्द्रले नेपालको इनिङग्स सम्हाले। चुनौतीपूर्ण अवस्थामा दीपेन्द्रले स्कटल्यान्डका ब्राड ह्विललाई १८ औं ओभरको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दा नेपाललाई राहत मिलेको थियो। अर्को ओभरको पहिलो बलमा गुल्सन झाले ब्राड करीलाई छक्का प्रहार गरे। अन्तिम ओभरमा नेपाललाई जितका लागि पाँच रन चाहिदा गुल्सनले दोस्रो बलमा चौका प्रहार गरे।
त्यसअघि भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो।
स्कटल्यान्डका लागि ओपनिङ ब्याटर माइकल जोन्सले अर्धशतक प्रहार गर्न सफल भए।
स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरूवात गर्यो। पहिलो विकेटको साझेदारी नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे। रोहितले दशौं ओभरको अन्तिम बलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई २७ रनमा आउट गरे। रिभर्स स्विप गरेका मन्सेलाई रोहितले लङ अनमा सन्दीप जोराबाट क्याच गराए। उनले २९ बलमा चार चौका प्रहार गरे।
उनै सन्दीप जोराले १४औं ओभरमा भने क्याच छाडे। १४औं ओभरको पहिलो बलमा नन्दन यादवको बलमा १६ रनमा ब्रान्डन म्याकमुलेनको क्याच जोराले छाडेका थिए। आकासिएको बल क्याच लिने क्रममा उनले सहि ठम्याउन नसक्दा हातमा लागेर भुइँमा झर्न पुगेको थियो। त्यसबेला स्कटल्यान्डको स्कोर १ विकेटको क्षतिमा ११० रन भइसकेको थियो।
स्कटल्यान्डले ६ ओभरको पावरप्लेमा विनाविकेटको क्षतिमा ५२ रन बनाएर नेपाली बलरमाथि सुरूमै दबाब बढाएका थिए। जर्ज मन्सेले सम्हालिएर खेले पनि अर्का ओपनर माइकल जोन्स आक्रामक ब्याटिङ गरेका थिए। उनले ३१ बलमै अर्धशतक पूरा गर्दा नेपाली बलरलाई ६ चौका र २ छक्का प्रहार गरेका थिए।
आक्रामक ब्याटिङ गरेका जोन्सले दोस्रो विकेटका लागि म्याकमुलेनसँग ५२ रनको साझेदारी गरेका थिए। नेपालका लागि खतरा देखिएका उनलाई १६औं ओभरको दोस्रो बलमा सोमपाल कामीले बोल्ड गरिदिए। सोमपालबाट बोल्ड हुनुअघि उनले ७१ रन जोड्दा ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। एक बलपछि सोमपालले अर्को विकेट लिए। उनले म्याकमुलेनलाई पीचमै एक हाते उत्कृष्ट क्याच लिएका थिए। म्याकमुलेन २५ रन जोड्ने क्रममा १९ बलमा १ चौका र १ छक्का प्रहार गरे।
लोकेश बमले १७ औं ओभरमा बाउन्ड्री नजिक बेरिङटनको क्याच मिस गरेका थिए। लङ अफमा भुर्तेलको बलमा बमले क्याच लिन खोजे पनि हातबाट खुस्किएर छक्का भएको थियो। तर दुई बलपछि नेपालले विकेट लिन सफल भयो। भुर्तेलले बेरिङटनलाई जोराबाट १० रनमा क्याच गराए। उनले ६ बलमा १ छक्का प्रहार गरे।
१८औं ओभरमा नेपालले अर्को विकेट लियो। नन्दन यादवले तेस्रो बलमा म्याथ्यु क्रसलाई ४ रनमा बोल्ड गरिदिए। नन्दनले लेग स्टम्पबाट योर्कर फ्याँक्दै क्रसलाई बोल्ड गरेका थिए।
सोमपालले १९औं ओभरमा अर्को विकेट लिन सफल भए। उनले टम ब्रुसलाई पाँच रनमै बोल्ड गरेर पेभिलियन फर्काए। उनले ब्याक ह्यान्ड स्लो बलमा ब्रुसलाई सिकार बनाएका थिए। अन्तिम ओभरमा नन्दन यादवले माइकल लिक्सलाई विकेट पछाडि आसिफ शेखबाट चार रनमा आउट गरे। यो विकेट नेपालले रिभ्यू लिएर हात पारेको थियो। तर अन्तिम बलमा नन्दनलाई मार्क वाटले छक्का हिर्काए। वाटले नटआउट १० बनाए।
नेपाली बलरले खराब सुरुवात गरे पनि अन्तिम पाँच ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चिएको थियो।
बलिङमा नेपालका सोमपालले तीन विकेट लिए। उनले चार ओभरमा उत्कृष्ट तीन विकेट लिँदा २५ रन मात्र दिए। नन्दनले चार ओभरमा दुई विकेट लिँदा ३४ रन खर्चिए।
कप्तान रोहित पौडेल र कुशल भुर्तेलको नाममा एक एक विकेट रह्यो। कुशलले चार ओभरमा ३७ रन खर्चिए। रोहितले २ ओभरमा १२ रन दिए। नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने आज पनि विकेटबिहीन बने। उनले तीन ओभर बलिङ गर्दा २९ रन खर्चिए।
खेलमा नेपालले करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको हो। यससँगै १५ सदस्यीय नेपालको टोलीबाट बसिर अहमदले मात्र यसपटक मौका पाउन सकेनन्। समूह ‘सी’ मा नेपाल लगातार तीन खेल हार्दै बाहिरिएको थियो। यस्तै स्कटल्यान्ड पनि बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइँको रुपमा थियो।