पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्दै टी-२० विश्वकप २०२६ मा आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ।
श्रीलंकामा मंगलबार पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। यो सन् २०१६ पछि विश्वकपमा पाकिस्तानको सबैभन्दा उच्च स्कोर हो। ओपनर साहिबजादा फरहानले उत्कृष्ट ७३ रन बनाए।
बाबर आजमले ४६ रनको योगदान दिए। अन्त्यतिर शादाब खानले विष्फोटक ब्याटिङ गर्दै मात्र १२ बलमा ३० रन जोडेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको थियो।
अमेरिकाका बलर स्याडले भान साल्काविकले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले आफ्नो स्लो बलको राम्रो प्रयोग गरे।
१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि शयन जहागीरले ४९ रन र शुभम रञ्जनेले ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
पाकिस्तानका स्पिनरहरू उस्मान तारिकले ३ विकेट लिए भने शादाब खानले ब्याटिङपछि बलिङमा पनि चम्किँदै २ विकेट लिए। पाकिस्तानले यस खेलमा ५ जना स्पिनर प्रयोग गरेको थियो, जसले श्रीलंकाको जस्तो पिचमा उनीहरू कति खतरनाक हुन सक्छन् भन्ने देखाएको छ।
यो जितसँगै पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ। अब पाकिस्तानको अर्को खेल आइतबार भारतसँग हुनेछ।