आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा जारी वार्म अप खेलमा युएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
पी चिदम्बरमा रंगशालामा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णयसँगै पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो।
युएईका ओपनर तथा कप्तान मोहमद वासिम ६ रनमा आउट भए। उनलाई पहिलो ओभरमै करण केसीले बोल्ड गरेका थिए। अर्का ओपनर आर्यांश शर्मालाई सन्दीप लामिछानेले कप्तान रोहित पौडेलबाट २५ रनमा क्याच गराए। उनले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।
अलिसन शराफूलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गराए भने ऐरीले नै मोहमद जोहाइबलाई १९ रनमा बोल्ड गरेका थिए।
मयंक कुमारलाई सन्दीपले ४ रनमा एलबिडब्लूको धरापमा परेका थिए।
११.३ ओभरमा ५ विकेटको क्षतिमा ६६ रन जोडेको युएईका लागि हर्षित कौशिक र मयंक कुमारको जोडी जमेको थियो। उनीहरुबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भयो।
कौशिकले २४ बलमा ३५ रन र मंयकले २७ बलमा नटआउट ३८ रन बनाए।
बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।
नेपालले विश्वकपअघि दोस्रो वार्म अप खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुँदैछन्। यी खेलपछि नेपाली टोली मुम्बई फर्कनेछ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।