ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले अर्को रोमाञ्चक जित हात पारेको छ।
सोमबार राति सकिएको खेलमा नेपालले कतारमाथि ५ रनको जित निकालेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल खेल्न बाँकी छदा १४२ रनमा अलआउट भयो।
जितसँगै सुपर-६ मा नेपालले शीर्ष स्थानको ओमानसँग समान ६ अंक जोडेको छ। यो जितले नेपाल सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट नजिक पुगेको छ।
कतारविरूद्ध रोमाञ्चक जित निकाल्ने क्रममा नेपालले १६ ओभरपछि उसका पाँच विकेट लियो भने केवल २० रन मात्र दियो। १६औं ओभरको समाप्तीमा कतारले पाँचौ विकेट गुमाउँदा १२२ रन जोडेको थियो। त्यतिबेला उसलाई जितका लागि २६ रन चाहिएको थियो। तर बाँकी पाँच विकेट गुमाउँदा उसले केवल २० रन मात्र जोड्न सक्यो।
नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले पाँच विकेट लिन सफल भए। एकदिवसीय र टी-२० मा गरी २५० विकेट पूरा गरेका सन्दीपले आजको खेलमा ३.५ ओभरमा १८ रन खर्चिए। नन्दन यादवले २ विकेट लिन सफल भए।
त्यसअघि कतारका लागि ओपनरद्वय इमल लियानगे र जुबेर अलीले अर्धशतक प्रहार गरे। इमलले ३५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाए भने जबेरले ५५ बलमा २ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाए। दुईबीच पहिलो विकेटका लागि १० ओभरमा ७९ रनको साझेदारी भएको थियो।
तर मध्यक्रमका ब्याटर भने नेपाली बलरसामू खुल्न सकेनन्।
त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेको फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४७ रन जोड्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले १७औं ओभरमा आउट हुनुअघि ४१ बल खेलेर ७ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले २२ बल खेलर २६ रन जोडे। रोहित र दीपेन्द्रबीच चौथो विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ११ रनमा आउट भए। कुशल मल्ल ८ रन, सन्दीप जोरा १ रन र आदिल अन्सारी २ रनमा आउट भए। अन्त्यतिर गुल्सन झाले ८ खेलमा २ छक्का प्रहार गरेर १६ रन बनाए।
सोमपाल कामीले अन्तिम बलमा रनआउट हुदा ९ बलमा १४ रन बनाए।
बलिङमा कतारका मिर्जा बइक र ड्यानियल आर्चरले ३-३ विकेट लिए।
अब नेपालले तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।