ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमीमा टस जितेको फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४७ रन जोड्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले १७औं ओभरमा आउट हुनुअघि ४१ बल खेलेर ७ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले २२ बल खेलर २६ रन जोडे। रोहित र दीपेन्द्रबीच चौथो विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ११ रनमा आउट भए। कुशल मल्ल ८ रन, सन्दीप जोरा १ रन र आदिल अन्सारी २ रनमा आउट भए। अन्त्यतिर गुल्सन झाले ८ खेलमा २ छक्का प्रहार गरेर १६ रन बनाए।
सोमपाल कामीले अन्तिम बलमा रनआउट हुदा ९ बलमा १४ रन बनाए।
बलिङमा कतारका मिर्जा बइक र ड्यानियल आर्चरले ३-३ विकेट लिए।
खेलमा नेपालले एक परिवर्तन गरेको छ। नेपालले ललित राजवंशीको स्थानमा आदिल अन्सारीलाई खेलाएको छ।
नेपालले शीर्ष-६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको थियो।
खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो।
समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष-६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा युएईसँगको जितसँगै ४ अंक भएको छ।
युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ। आजको जितले नेपाल विश्वकप नजिक पुग्नेछ। शीर्ष स्थानको ओमानको पनि ६ अंक छ।
नेपालले तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।