ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दै छ।
समूह विजेता हुँदै सुपर-६ मा पुगेको नेपालले आइतबार अपराह्न सवा ४ बजे आफ्नो चीर परिचित प्रतिद्वन्द्वी युएईसँग खेल्नेछ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ।
समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ। यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन।
अब सुपर-६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर-६ मा गणना हुनेछ।
जसमा युएई, नेपाल र ओमानले सुपर-६ मा २-२ अंक जोडिसकेका छन्।
दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।