महिला एकदिवसीय विश्वकपअन्तर्गत आइतबार भारत र पाकिस्तानबीच श्रीलंकाको कोलम्बोमा खेल भयो। जुन खेलमा भारतले पाकिस्तानमाथि ८८ रनको जित निकाल्यो।
खेलमा भारतले पाकिस्तानविरूद्ध गरेको रनआउट भने चर्चामा रह्यो।
भारतले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा चौथो ओभरमा पाकिस्तानकी ओपनर मुनीबा अली रन आउट भएपछि केही बेर खेल रोकिएको थियो।
मुनीबा आउट भएको विषयमा केही अन्योल भएकोले पाकिस्तानका अफिसियलले बाउन्ड्रीमा सो निर्णयबारे प्रश्न गरेको थियो।
जसका कारण आउट भएकी मुनीबा पनि मैदानको छेउमा केही समयसम्म बसेकी थिइन्।
सो बलमा मुनीबाले सुरुमा रन लिने प्रयास गरेकी थिइनन्। उनी क्रिजभन्दा बाहिर आएर ब्याटिङ गरिरहेकी थिइन्।
भारतकी क्रान्ति गौडको बलिङमा एलबीडब्लूको अपील गरेपछि मुनीबाले दीप्ति शर्माले थ्रो गर्नुअघि नै आफ्नो ब्याट क्रिजभित्र ग्राउन्ड गरिसकेकी थिइन्।
तर, उनले आफ्नो ब्याटलाई एकछिनको लागि जमिनबाट फेरि उठाइन्। शरीरको कुनै पनि भाग क्रिजभित्र नटेकी ब्याट हल्का माथि उठेको बेला दीप्तिको थ्रोले स्टम्पमा लागेर बेल्स खसेको थियो।
आइसिसीको नियम ३०.१.२ अनुसार ब्याटर क्रिजभन्दा बाहिर गए पनि आउट नहुन सक्छ। तर त्यो नियम "रन लिने वा डाइभ गर्ने क्रममा" क्रिजभित्र छिर्दा मात्र लागू हुन्छ। मुनीबा केवल क्रिजमा फर्किरहेकी थिइन् र उनको ब्याट क्रिज छोड्ने गरी कुनै गति थिएन।
यस अन्योलको आंशिक कारण ठूलो स्क्रिनमा देखिएका थर्ड अम्पायरका विरोधाभासी निर्णयहरू पनि थिए।
मुनीबालाई सुरुमा स्क्रिनमा 'नट आउट' दिइएको थियो र भारतीय खेलाडीहरू पनि आ-आफ्नो स्थानमा फर्केका थिए। तर, त्यो निर्णय चाँडै नै 'आउट'मा परिवर्तन भयो, जसले भारतीय खेलाडीहरूलाई खुसी तुल्यायो र मुनीबालाई अलमलमा पार्यो। उनले अन-फिल्ड अम्पायरहरूसँग स्पष्टीकरण मागिन्।
थर्ड अम्पायर केरिन क्लास्टले मुनीबाले ब्याट पहिलो पटक ग्राउन्ड गरेको फुटेज मात्र हेरेर सुरुमा नट आउट दिएकी थिइन्। तर, त्यसपछि उनले सबै रिप्लेहरू (जहाँ मुनीबाले फेरि ब्याट उठाइन्) हेरेपछि आफ्नो निर्णय परिवर्तन गरिन्।
अन-फिल्ड अम्पायरहरूले मुनीबा आउट भएको पुष्टि गरेपछि मुनीबा मैदान छोड्न थालिन्। तर पाकिस्तानको डगआउट नजिकै विरोध सुरु भएपछि उनलाई रोक्यो। उनका टोलीका साथीहरूले उनलाई मैदानमै रहन निर्देशन दिइरहेका थिए, जबकि उनीहरूले चौथो अम्पायर किम कटनसँग फेरि निर्णयबारे प्रश्न गरिरहेका थिए। मुनीबा आफ्ना कप्तान फातिमा सनासँग—थप छलफलमा थिइन्, जबकि अर्की ब्याटर सिद्रा अमिन मैदानमा प्रवेश नगरी बाउन्ड्रीको छेउमा उभिरहेकी थिइन्।
अन्ततः सनाले मुनीबालाई मैदान छोड्न संकेत दिइन्। अमिन मैदानमा प्रवेश गरिन् र ब्याटिङ गर्न गइन्। यो घटनाले नियमित रन आउटमा लाग्ने भन्दा धेरै मिनेटसम्म खेल रोकियो।
यदि भारतले अन-फिल्ड अम्पायरको नट आउट निर्णयमाथि रिभ्यू लिएको भए। मुनीबा सोही बलमा एलबीडब्लू पनि आउट हुने थिइन्।
खेलमा २४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १५९ रनमै अलआउट हुन पुगेको थियो।