आइसिसी यू-१९ विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ।
माथिल्लो मुलपानी मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो।
ओमानका लागि जित ब्रजेश साहले ५२ रन जोडे। उनले ७८ बल खेलेर ६ चौका प्रहार गरे। सिद्धार्थ सौम्य सरकारले १६ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा नेपालका युवराज खत्रीले पाँच विकेट लिन सफल भए। उनले सात ओभरमा २ मेडन राख्दा १५ रन खर्चिए। उनले ३१ बल त डट फ्याँके। सन्तोष यादवले २ विकेट लिए भने दयानन्द मण्डल, अप्राजित पौडेल र अशोक धामीले १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा आइतबार युएईलाई ५ रनले हराएको थियो।
प्रतियोगितामा नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
छनोटको तयारीका लागि नेपालले वीरगञ्जमा दिल्लीको यू१९ टोलीसँग तीन खेलको सिरिज खेल्दा तीनै खेलमा जित निकालेको थियो। त्यसपछि मुलपानीमा अफगानिस्तानसँग सिरिज खेल्दा नेपाल सुरुवाती दुई खेलमा पराजित भयो। वर्षाले प्रभावित तेस्रो खेल नेपालले जितेको थियो।
यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। यद्यपी अरु टोलीसँगको हारले नेपालको यात्रा सकिन सक्छ। त्यसैले अरु टोलीलाई हराउँदै अफागानिस्तानको तगारो पन्छाउन सके नेपालले नवौं पटक विश्वकप खेल्नेछ। अफगानिस्तानलाई हराउनका आत्मविश्वास लिएर खेल्नु पर्ने नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले बताउँदै आएका छन्।
अफगानिस्तानसँग मुलपानीमा तीन खेलको सिरिज खेल्दा नेपाल पहिलो खेलमा दबाबमा देखिएको थियो। दोस्रो खेलमा एक रनले चुकेको नेपालले तेस्रो खेलमा भने सुधार ल्याउँदै जित निकाल्यो। त्यहिँ सुधार छनोटमा देखाउन सके नेपालका लागि विश्वकप छनोट सहज बन्न सक्छ।
नेपालको खेल
नेपाल भर्सेस युएई – चैत ३१
नेपाल भर्सेस ओमान – वैशाख १
नेपाल भर्सेस हङकङ – वैशाख ३
नेपाल भर्सेस अफगानिस्तान – वैशाख ६