आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आइतबार भएको खेलमाा युएईमाथि डिएलएस मेथडमा ५ रनको जित निकालेको हो।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाउँदा खेल रोकिएको थियो। त्यतिबेला पार स्कोर १७६ रन थियो। ५:३० मा खेल रोकिँदा हल्का वर्षा भइरहेको थियो। त्यसपछि प्रकाश पुग्ने वा नपुग्ने विषयमा अम्पायरले जाँँच गरेका थिए। २० मिनेटपछि अम्पायरले बाँकी खेल हुन नसक्ने घोषणा गर्दा नेपाल विजयी भएको हो।
युएईका लागि किरण राईले १०४ रन बनाएर खेलिरहेको स्थिति थियो। उनले ९६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। रायन खानले ३५ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्।
बलिङमा नेपालका अशोक धामी र सन्तोष यादवले २-२ विकेट लिए। अभिषेक तिवारी र नरेन भट्टको नाममा १-१ विकेट रह्यो।
त्यसअघि आइतबार तल्लो मुलपानी ग्राउन्डमा टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनायो। आउटफिल्ड चिसो भएपछि खेलमा टस ढिलाइ हुनुका साथै ४० ओभरमा झारिएको थियो।
नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतक प्रहार गरे। नरेनले ७५ बलमा ७ चौकाको मद्दतमा ६७ रन बनाए।
ओपनरद्वय शाहिल पटेलले ३२ रन र निरज यादवले १८ रन बनाए। सन्तोष यादव ११ रन, रोशन विक ४ रन र अभिषेक तिवारी १ रनमा आउट भए।
दिलसाद अलीले ४० बल खेलेर ३४ रनको योगदान गरे। अशोक धामीले नटआउट १० रन बनाए।
बलिङमा युएईका उदिस सुरीले ३ विकेट लिए। युग शर्मा र शलोमले २-२ विकेट लिए।
आजै भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको थियो। नेपालले भोलि ओमानसँग खेल्नेछ।
तल्लो मुलपानी मैदानमा निर्माण सुरू गरेको १७ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो। यो मैदानमा विश्वकप छनोटका समूह चरणका खेल हुने कार्यक्रम छ।
माथिल्लो मैदानमा पनि हुने छनोटका खेल वैशाख ६ सम्म संचालन हुनेछन्। प्रतियोगितामा सहभागी नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
छनोटको तयारीका लागि नेपालले वीरगञ्जमा दिल्लीको यू१९ टोलीसँग तीन खेलको सिरिज खेल्दा तीनै खेलमा जित निकालेको थियो। त्यसपछि मुलपानीमा अफगानिस्तानसँग सिरिज खेल्दा नेपाल सुरुवाती दुई खेलमा पराजित भयो। वर्षाले प्रभावित तेस्रो खेल नेपालले जितेको थियो।
यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। यद्यपी अरु टोलीसँगको हारले नेपालको यात्रा सकिन सक्छ। त्यसैले अरु टोलीलाई हराउँदै अफागानिस्तानको तगारो पन्छाउन सके नेपालले नवौं पटक विश्वकप खेल्नेछ। अफगानिस्तानलाई हराउनका आत्मविश्वास लिएर खेल्नु पर्ने नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले बताउँदै आएका छन्।
अफगानिस्तानसँग मुलपानीमा तीन खेलको सिरिज खेल्दा नेपाल पहिलो खेलमा दबाबमा देखिएको थियो। दोस्रो खेलमा एक रनले चुकेको नेपालले तेस्रो खेलमा भने सुधार ल्याउँदै जित निकाल्यो। त्यहिँ सुधार छनोटमा देखाउन सके नेपालका लागि विश्वकप छनोट सहज बन्न सक्छ।
नेपालको खेल
नेपाल भर्सेस युएई – चैत ३१
नेपाल भर्सेस ओमान – वैशाख १
नेपाल भर्सेस हङकङ – वैशाख ३
नेपाल भर्सेस अफगानिस्तान – वैशाख ६