आइतबारदेखि मुलपानीका दुई मैदानमा आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको खेल सुरू भएको छ।
माथिल्लो मुलपानी मैदानमा ओमान र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।
तल्लो मुलपानी मैदानमा नेपाल र युएईबीच खेल हुँदैछ। चिसो आउटफिल्ड भएका कारण ढिलो गरी भएको टस युएईले जितेको छ। खेल दश ओभर घटाइएको छ। अब खेल ४० ओभरमा मात्र हुनेछ।
तल्लो मुलपानीमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल सञ्चालन हुन लागेको हो। सरकारले निर्माण सुरु गरेको १७ वर्षपछि यहाँ पहिलो औपचारिक खेल हुन लागेको हो।
खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन्।
नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा टोलीमा छन्।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
छनोटको तयारीका लागि नेपालले वीरगञ्जमा दिल्लीको यू१९ टोलीसँग तीन खेलको सिरिज खेल्दा तीनै खेलमा जित निकालेको थियो। त्यसपछि मुलपानीमा अफगानिस्तानसँग सिरिज खेल्दा नेपाल सुरुवाती दुई खेलमा पराजित भयो। वर्षाले प्रभावित तेस्रो खेल नेपालले जितेको थियो।
यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। यद्यपी अरु टोलीसँगको हारले नेपालको यात्रा सकिन सक्छ। त्यसैले अरु टोलीलाई हराउँदै अफागानिस्तानको तगारो पन्छाउन सके नेपालले नवौं पटक विश्वकप खेल्नेछ। अफगानिस्तानलाई हराउनका आत्मविश्वास लिएर खेल्नु पर्ने नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले बताउँदै आएका छन्।
अफगानिस्तानसँग मुलपानीमा तीन खेलको सिरिज खेल्दा नेपाल पहिलो खेलमा दबाबमा देखिएको थियो। दोस्रो खेलमा एक रनले चुकेको नेपालले तेस्रो खेलमा भने सुधार ल्याउँदै जित निकाल्यो। त्यहिँ सुधार छनोटमा देखाउन सके नेपालका लागि विश्वकप छनोट सहज बन्न सक्छ।
नेपालको खेल
नेपाल भर्सेस युएई – चैत ३१
नेपाल भर्सेस ओमान – वैशाख १
नेपाल भर्सेस हङकङ – वैशाख ३
नेपाल भर्सेस अफगानिस्तान – वैशाख ६