आइसिसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी सुरूवात गरेको छ।
गएराति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गर्दै विश्वकपममा विजयी सुरुवात गरेको हो।
पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य वेस्ट इण्डिजले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्यो।
त्यस क्रममा रोष्टन चेस ४२ रन बनाएर नट आउट रहे। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै ब्रान्डन किङले २९ बलमा ७ चौका प्रहार गरी ३४ रन जोडे। निकोलस पुरनले २७ बल १ चौका र २ छक्का प्रहार गरी २७ रन बनाए।
कप्तान रोभमन पावेलले १५ रन जोड्दा आन्द्रे रसेल १५ रन बनाएर नट आउट रहे।
बलिङतर्फ पपुवा न्युगिनीका अशद भालाले २ तथा एलेइ नाओ, चाड सोपर र जोन कारिकोले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेट गुमाएर १३६ रन बनाएको थियो।
त्यस क्रममा सेसे बाउले अर्धशतक हाने। उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरी ५० रन बनाए।
किप्लिन डोरिगा २७ रन बनाएर नट आउट रहे।
कप्तान असद भालाले २२ बलमा २ चौका र १ छक्का प्रहार गरी २१ रन जोडे।
बलिङतर्फ अल्जरी जोसेफ र आन्द्रे रसेलले २/२ तथा अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले १/१ विकेट लिए।
टी-२० विश्वकपमा सोमबार बिहान ओमान र नामिबिया खेलिरहेका छन्।