आइसिसी टी-२० विश्वकप सुरू भएको छ।
टेक्सासको ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा उद्घाटन खेलमा सह-आयोजक अमेरिका र छिमेकी क्यानडा खेलिरहेका छन्।
टस जितेर अमेरिकाले बलिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरेको छ।
क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रनको योगफल तयार गरेको छ।
त्यस क्रममा नवनीत धलिवलले सर्वाधिक ६१ रन बनाए। उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
निकोलश किर्टनले म ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरी ५१ रन जोडे। श्रेयस मोव्वाले १६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३२ रनको योगदान गरे। ओपनर आरोन जनसनले २३ रन जोडे।
बलिङतर्फ अमेरिकाका अली खान, हरमित सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए।
यसपटक अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गरेका हुन्। पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्याण्ड छन्। समूह बी मा इंगल्याण्ड, अस्ट्रेलया, नामिबिया, स्कटल्याण्ड र ओमान छन्।
समूह सी मा न्युजिल्याण्ड, वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी छन्।
नेपाल समूह डी मा छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपमा कुल ५५ खेल हुनेछन्।
सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको छ।
चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्।
सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।