रोयल च्यालेञ्जर्स बेंगलुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को पाँचौं स्थानमा उक्लिएको छ।
गएराति दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै बेंगलुरू अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको हो।
१८८ रनको लक्ष्य पछ्याएको दिल्लीलाई बेंगलुरूले १९.१ ओभरमा अल आउट गरेको थियो।
त्यस क्रममा यश दयालले तीन विकेट लिए। लकी फर्गुशनले २ तथा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरून ग्रीनले एक/एक विकेट लिए।
१४० रनमा समेटिएको दिल्लीका लागि कप्तान अक्षर पटेलले अर्धशतक हाने। उनले ३९ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए।
त्यस्तै शाइ होपले२३ बलमा ४ चौका प्रहार गरी २९ रन बनाए।
जेक फ्रेजर मिकगर्कले ८ बला २ चौका र २ छक्का प्रहार गरी २१ रन जोडेका थिए।
ओपनर डेभिड वार्नर १, अभिषेक पोरेल २ र कुमार कुसाग्रा ३ रनमा आउट हुन पुगे।
पहिले ब्याटिङ गरेको बेंगलुरूले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो।
त्यस क्रममा रजत पाटीदारले अर्धशतक हाने । उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाए।
विल ज्याक्सले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरी ४१ रन जोडे।
ओपनर विराट कोहलीले १३ बलमा १ चौका र ३ छक्का प्रहार गरी २७ रन बनाए।
क्यामरून ग्रीन ३२ रन बनाएर नट आउट रहे भने महिपाल लोम्रोरले १३ रनको योगदान गरे।
बलिङतर्फ दिल्लीका खलिल अहमद र रशिक सलामले २/२ तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले १/१ विकेट लिए।
जितसँगै बेंगलुरूले प्लेअफ सम्भावना कायम राखेको छ।
लिग चरणको एक खेल बाँकी रहँदा पाँचौं स्थानमा उक्लिएको उसको १२ अंक छ। पराजय भोगेको दिल्ली समान अंकसहित छैटौं स्थानमा छ।
चौथो र तेस्रो स्थानमा रहेको सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सको १४/१४ अंक छ। हैदरावादले दुई तथा चेन्नईको एक खेल बाँकी छ।