सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई बुधबार राति १० विकेट र १०.२ ओभर बाँकी छदा हराएपछि मुम्बई इन्डियन्स आइपिएल २०२४ प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।
जितसँगै हैदरावादमा १४ अंकसहित तेस्रो स्थानमा पुग्यो। कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सको १६-१६ अंक छ। लखउन र दिल्ली क्यापिटल्सले १२-१२ अंक जोडेका छन्। लखनउ र दिल्लीले एक अर्कासँग खेल्दा एक टोलीले कम्तिमा १३ अंक प्राप्त गर्नेछ। यदि मुम्बईले आफ्ना बाँकी दुई लिग खेल जिते पनि अधिकतम १२ अंक हुन सक्छ, जसले मुम्बई शीर्ष चारको दौडबाट बाहिरिएको छ।
बिहीबार पञ्जाब किंग्सले धर्मशालामा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्दा हार्ने टोलीको पनि यस्तै नियति हुनेछ।
मुम्बईले आफ्ना नयाँ कप्तान हार्दिक पाण्ड्याको नेतृत्वमा सिजन सुरु गरेको थियो। तर लगातार तीन पराजयको साथ खराब सुरुवात गर्न बाध्य भयो। मुम्बईले आफ्नो अर्को चार खेलहरू मध्ये तीन जितेको थियो। तर फेरि लगातार चार पराजयको अर्को लयले उनीहरूको प्लेअफ दौडलाई गम्भीर धक्का पुगेको थियो।
मुम्बईका तीव्र गतिका बलर जसप्रित बुमराहले राम्रो खेले पनि टिमले जित निकाल्न सकेन। उनले १२ खेलमा १८ विकेट लिए। तर अन्य कुनै पनि बलरले किफायती प्रदर्शन गर्न सकेनन्।
ब्याटरले पनि राम्रो खेल देखाउन सकेनन्। १२ खेलपछि मुम्बईका कुनै पनि ब्याटरले ४ सय रन कटाउन सकेका छैनन्। तिलक वर्माले ४२.६६ को औसतमा ३८४ रन बनाएर सर्वाधिक स्कोरर बनेका छन्। ९ इनिङ्समा ३३४ रन बनाएर सूर्यकुमार यादव दोस्रो स्थानमा छन्। रोहित शर्माले १२ इनिङ्समा ३३० रन मात्र बनाउन सकेका छन्।
हार्दिकका लागि पनि सिजन राम्रो हुन सकेन। उनले ११ इनिङ्समा १९८ रन मात्रै बनाए भने ११ विकेट लिए।