वेस्ट इण्डिज ए विरूद्ध नेपाल ६ विकेटले विजयी भएको छ।
अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो।
१८ औं ओभरमा कुशल मल्लले विस्फोटक ब्याटिङ गरे। ओभरको पहिलो बल छक्का र त्यसपछिका चार बलमा चौका प्रहार गरेपछि नेपाल इनिङको सात बल बाँकी छँदै विजयी भएको हो।
कुशल मल्ल १८ बलमा ३७ रन बनाएर नट आउट रहे। उनले ३ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि आशिफ शेख र अनिल साहले अर्धशत हानेका थिए।
अनिलले १५.१ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। ४१ बलमा अर्धशत पूरा गरेका उनले ४ चौका र तीन छक्का हाने।
१७ औं ओभरको दोस्रो बलमा आउट हुनुअघि अनिलले कुल ५८ रन जोडे भने चार छक्का प्रहार गरे।
सिरिजको यसअघिका खेलमा अनिलको प्रस्तुत सन्तोषजनक हुन सकेको थिएन। आजको खेलमा भने उनले टिमलाई जिततर्फ उन्मुख गराएका थिए।
१४ औं ओभरमा आउट हुनुअघि अर्धशत पूरा गरेका आशिफले ३५ बलमा २ चौका र ५ छक्का हाने।
आजको खेलमा दीपेन्द्रसिंह ऐरी ५ र कुशल भूर्तेल १३ रन बनाएर आउट भए।
बलिङतर्फ वेस्ट इण्डिज ए का ओबेड मिककोयले ४ र म्याथ्यु फोर्डीले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो।
आजको खेलमा सोमपाल कामी र सागर ढकालले ३/३ विकेट लिए।
वेस्ट इण्डिजका शीर्ष क्रमका तीन ब्याटरलाई सागर ढकालले सस्तोमै आउट गरे।
उनले आठौं ओभरमा दुई विकेट लिए। ओभरको पहिलो बलमा वेस्ट इण्डिजका ओपनर जोनसन चार्ल्स र तेस्रो बलमा मार्क देयाल आउट भएका थिए।
आउट हुनुअघि जोनसनले २० बलमा २४ रन र देयालले १९ बलमा ११ रन बनाएका थिए ।
त्यसअघि सागरले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
उनले दोस्रो ओभरको चौथो बलमा कादिम एल्लेनलाई आउट गरेका थिए। कादिम सागरको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि कादिमले ६ बलमा १ चौका र १ छक्का प्रहार गरी ११ रन बनाएका थिए।
वेस्ट इण्डिजका कप्तान रोस्टन चेस आजको खेलमा ३३ रन बनाएर आउट भए। उनलाई अभिनाष बोहराले बोल्ड गरे।
१९ औं ओभरमा सोमपाल कामीले २ विकेट लिए।
दोस्रो बलमा फाबियन एलेन र पाँचौं बलमा गुडकेश मोतीलाई आउट गरे। त्यसअघि १७ औं ओभरको तेस्रो बलमा म्याथ्यु फोर्डीलाई सोमपालले कुशल भूर्तेलबाट आउट गराएका थिए।
आउट हुनुअघि फोर्डीले १२ बलमा ३ छक्का प्रहार गरी २३ रन जोडेका थिए।
वेस्ट इण्डिजका एलिक एथनेज ४२ रन बनाएर नट आउट रहे। उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
यससँगै वेस्ट इण्डिजले ३-२ ले सिरिज आफ्नो पक्षमा पारेको छ।