वेस्ट इण्डिज ए विरूद्धको टि-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १७३ रनको लक्ष्य पाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज ए ले ७ विकेटको क्षतिमा १७२ रन बनाएको छ।
आजको खेलमा सोमपाल कामी र सागर ढकालले ३/३ विकेट लिए।
आजको खेलमा शीर्ष क्रमका तीन ब्याटरलाई सागर ढकालले सस्तोमै आउट गरे।
उनले आठौं ओभरमा दुई विकेट लिए। ओभरको पहिलो बलमा वेस्ट इण्डिजका ओपनर जोनसन चार्ल्स र तेस्रो बलमा मार्क देयाल आउट भएका थिए।
आउट हुनुअघि जोनसनले २० बलमा २४ रन र देयालले १९ बलमा ११ रन बनाएका थिए ।
त्यसअघि सागरले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
उनले दोस्रो ओभरको चौथो बलमा कादिम एल्लेनलाई आउट गरेका थिए। कादिम सागरको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि कादिमले ६ बलमा १ चौका र १ छक्का प्रहार गरी ११ रन बनाएका थिए।
वेस्ट इण्डिजका कप्तान रोस्टन चेस आजको खेलमा ३३ रन बनाएर आउट भए। उनलाई अभिनाष बोहराले बोल्ड गरे।
१९ औं ओभरमा सोमपाल कामीले २ विकेट लिए।
दोस्रो बलमा फाबियन एलेन र पाँचौं बलमा गुडकेश मोतीलाई आउट गरे। त्यसअघि १७ औं ओभरको तेस्रो बलमा म्याथ्यु फोर्डीलाई सोमपालले कुशल भूर्तेलबाट आउट गराएका थिए।
आउट हुनुअघि फोर्डीले १२ बलमा ३ छक्का प्रहार गरी २३ रन जोडेका थिए।
वेस्ट इण्डिजका एलिक एथनेज ४२ रन बनाएर नट आउट रहे। उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
नेपालले यसअघि नै सिरिज गुमाइसकेको छ।
आजको खेलमा नेपाल विजयी भए वेस्ट इण्डिजले ३-२ ले सिरिज जित्नेछ।
नेपालले पहिलो खेलमा सानदार विजयी हासिल गरेपनि त्यसपछिका तीन वटै खेलमा पराजित हुँदा सिरिज गुमाएको हो।