आइसिसी टी-२० विश्वकप २०२४ को सह-आयोजक वेस्ट इन्डिजले राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीमा रोभम्यान पावेललाई कप्तानको जिम्मेवारी दिइएको छ।
अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि हुने विश्वकपमा वेस्ट इन्डिजले १५ सदस्यीय टोली घोषणा गरेको हो।
यो वर्षको सुरुमा अष्ट्रेलिया विरुद्धको टेस्ट डेब्यू शृंखलामा प्रभावशाली प्रदर्शन गरेका शामर जोसेफ पनि टी-२० टोलीमा परेका छन्।
अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज गुमाएका शिमरन हेटमायरले पुनरागमन गरेका छन्। उनले राजस्थान रोयल्ससँग चलिरहेको आईपीएलमा फिनिशरको भूमिका खेल्दै चार इनिङ्समा १८४.४४ को स्ट्राइक रेटमा ८३ रन बनाएका छन्।
टोलीमा नेपालविरूद्धको टी-२० सिरिज खेलिरहेका वेस्ट इन्डिज ‘ए’ टिमका तीन खेलाडी पनि परेका छन्। एक शतक र एक अर्धशतक प्रहार गरिरहेका जोनसन चाल्ससहित अलराउन्डर रोस्टन चेज र स्पिनर गुणाकेश मोतीले राष्ट्रिय टोलीमा स्थान पक्का गरेका छन्।
नेपालविरूद्धको सिरिज वेस्ट इन्डिज ‘ए’ ले अन्तिम तथा पाँचौं खेलअघि ३-१ को अग्रता लिएर जितिसकेको छ।
समूह ‘सी’ मा वेस्ट इन्डिजले अफगानिस्तान, न्यूजिल्याण्ड, पपुवा न्युगिनी र युगान्डासँग प्रतिस्पर्धा गर्नेछ। दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले पहिलो खेल जुन २ मा पपुवा न्युगिनीसँग खेल्नेछ।
वेस्ट इन्डिज टोली: रोभम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जोनसन चार्ल्स, रोस्टन चेज, शिमरन हेटमायर, जसन होल्डर, शाई होप, अकेल होसेन, शामर जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफान रदरफोर्ड, रोमेरियो शेफर्ड।