चौथो टी-२० मा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत नेपालले वेस्ट इन्डिज 'ए' सँग २८ रनको पराजित भोगेको छ।
जितसँगै एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज कब्जा गरेको छ।
पहिलो खेल नेपालले जित्दा वेस्ट इन्डिजले लगातार तीन खेल जितेर सिरिजमा ३-१ को अग्रता लिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अलआउट भयो।
खेलमा नेपालका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गरे। यसअघि पहिलो खेलमा शतक (११२ रन) र दोस्रो खेलमा अर्धशतक (७१*) प्रहार गरेका रोहितले वेस्ट इन्डिजविरूद्ध खेल्दा लगातार तीन खेलमा ५० रन माथिको स्कोर गरेका हुन्। उनी तेस्रो खेलमा भने टिममा थिएनन्।
रोहितले ५४ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ८४ रन जोडे। उनी १४औं ओभरमा हेडन वाल्सको बलमा म्याथ्यु फोर्डबाट क्याच भएपछि नेपालमाथि दबाब थपिएको थियो।
रोहित आउट भएपछि दीपेन्द्रसिंह ऐरी र गुल्सन झा १९-१९ रन जोडेर आउट भए। प्रतिश जिसी पनि डक आउट भए। अन्तिम बल बाँकी छदा आउट भएका सोमपाल कामीले १० रन र अभिनास बोहराले नटआउट १७ रन जोडे।
त्यसअघि खेलमा दुवै ओपनरले खराब ब्याटिङ गरे। आसिफ शेख पहिलो ओभरमा शून्यमा बोल्ड भए भने कुशल भुर्तेलले ५ बलमा १ रन मात्र जोड्न सके।
आसिफलाई म्याथ्यु फोर्डले बोल्ड गर्दा कुशल फाबियन एलनबाट पाँचौं ओभरमा बोल्ड भए। पाँचौं ओभरमा कुशल मल्ल पनि ४ रनमा क्याच भए। यस्तै सन्दीप जोरा १९ रनमा हेडन वाल्सको बलमा क्याच गरे।
बलिङमा वेस्ट इन्डिजका ओबेड म्याक्वे र हेडन वाल्सले ३-३ विकेट लिए।
वेस्ट इन्डिजको २०९ रन
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे।
नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे। फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए।
त्यसअघि वेस्ट इन्डिजले १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोड्यो।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलबाट क्याच गराए।
उनले फ्लेचरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे।
त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे। केसी कार्टी भने चार रनमै आउट भए। उनलाई पनि भुर्तेलले रोहित पौडेलबाट क्याच गराए।
बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट हात पारे।
अब नेपाल र वेस्ट इन्डिजबीचको पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ।
नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो।
सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।