टी-२० विश्वकप २०२४ का लागि अस्ट्रेलियाले राष्ट्रिय टोली घोषणा गरेको छ।
१५ सदस्यीय टोलीमा अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ, युवा खेलाडी जेक फ्रेजर-म्याकगुर्क, अनुभवी तीव्र गतिका बलर जेसन बेहरेनडोर्फ र अलराउन्डर म्याट सर्ट समावेश छैनन्।
अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा बायाँ हाते स्पिनर अस्टन अगरले स्थान पक्का गर्दा मार्कस स्टोइनिस, टिम डेभिड, क्यामरन ग्रीन र ग्लेन म्याक्सवेल अन्तिम टोलीमा परेका छन्।
अस्ट्रेलियाको कप्तानी मिचेल मार्शले गर्नेछन्।
मार्सले पछिल्लो १२ महिनामा अस्ट्रेलियाको टी-२० टोलीको अन्तरिम कप्तानको भूमिका निर्वाह गर्दै आएका छन्। कप्तानको रूपमा टी-२० विश्वकप उनको पहिलो ठूलो प्रतियोगिता हुनेछ।
अस्ट्रेलियाले आफ्नो टी-२० विश्वकप अभियानको सुरुआत जुन ५ मा बार्बाडोसमा ओमानसँग खेलेर गर्नेछ। समूह ‘बी’ मा अस्ट्रेलिया र ओमानसँगै इङ्ल्यान्ड, नामिबिया र स्कटल्याण्ड छन्।
अस्ट्रेलियाको टोली: मिचेल मार्श (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हजलउड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर, एडम जाम्पा।