एउटै टी-२० खेलको दुवै इनिङग्समा गरी कुल ५२३ रन। जसमा कीर्तिमानी ३८ छक्का प्रहार भएको थियो। सायद बुधबार राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल टी-२० को सबैभन्दा रोमाञ्चक खेल मध्ये एक थियो।
हैदरावादको राजीव गान्धी स्टेडियममा भएको उक्त खेलमा दुबै टोलीको उत्कृष्ट ब्याटिङ देखिएको थियो। खेलमा धेरै कीर्तिमान बने।
सबैभन्दा छिटो १०० रन, सबैभन्दा छिटो २०० रन, एक टोलीद्वारा उच्चतम स्कोर, एकै खेलमा धेरै रन, एकै खेलमा सबैभन्दा बढी छक्का प्रहार जस्ता कीर्तिमान बने।
धेरै कीर्तिमानले सजिएको यो खेलमा दुईवटा कुराको सबैभन्दा बढी चर्चा भयो– हैदरावादका हेनरिक क्लासेनको ब्याटिङ र मुम्बईका हार्दिक पाण्ड्याको कप्तानी।
खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो। ट्राभिस हेडले उत्कृष्ट सुरुवात दिँदै २४ बलमा ६२ रन बनाए।
त्यसपछि अभिषेक शर्माले उत्कृष्ट प्रदर्शन गर्दै २३ बलमा ६३ रन बनाए। मक्रमले पनि ४२ रनको योगदान दिए। हैदरावादलाई उच्च रनतर्फ डोहोर्याउने ब्याट्सम्यान हेनरिक क्लासेन थिए। क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का सहित ८० रन बनाए।
यसअघि क्लासेनले कोलकाता नाइट राइडर्सविरुद्ध पनि ८ छक्का प्रहार गरी हैदरावादलाई लगभग जित दिलाएका थिए। यी दुई उत्कृष्ट इनिङ्सपछि क्लासेनको निकै प्रशंसा भइरहेको छ।
हैदरावादको कीर्तिमानी २७७ रनको जवाफमा मुम्बई इन्डियन्सले राम्रो सुरुवात गरे पनि यो ठूलो लक्ष्य हासिल गर्न सकेन र खेल ३१ रनले पराजित भयो।
यो सिजन मुम्बईले पाण्ड्यालाई नयाँ कप्तान बनाएको छ। कतिपयले उनको चर्को आलोचना गरेका छन्।
खेलमा पाण्ड्याले टी–२० मा विश्वका उत्कृष्ट बलर जसप्रित बुमराहलाई सुरुवातै बलिङ गराएका थिएनन्। उनले १० औं ओभरमा बलिङ गर्ने मौका पाए, तर त्यतिन्जेल हैदरावादले इनिङ्सलाई आफ्नो नियन्त्रणमा लिएको थियो। हैदरावादले १०.२ ओभरमा १५० रन पूरा गरेको थियो ।
पाण्ड्याको यो रणनीतिका लागि हैदराबादले तयारी गरेको थियो।
हैदरावादको रणनीति ओपनिङ बलरलाई टार्गेट गर्ने थियो। यो रणनीतिमा हैदरावाद सफल भयो।
बुमराहले चार ओभरमा ९ रनको इकोनोमी दिएर ३६ रन दिए, जुन मुम्बईको बलिङमा उत्कृष्ट थियो। पाण्ड्याले ४ ओभरमा ४६ रन दिए भने बुमराहको स्थानमा बलिङको ओपनिङ गरेका १७ वर्षीय क्वेना माफाकाले ४ ओभरमा ६६ रन खर्चिए।
भारतीय पूर्व अलराउन्डर इरफान पठानले पाण्ड्याको कप्तानीमा प्रश्न उठाएका छन्।
उनले ट्विट गर्दै भनेका छन्, ‘हार्दिक पाण्ड्याको कप्तानी निकै सामान्य रहेको छ, कम्तिमा यति भन्न सकिन्छ। जब हैदरावादका ब्याट्सम्यानले तहल्का मच्चाइरहेका थिए, बुमराहलाई बलिङबाट टाढा राख्नु मेरो बुझाइभन्दा बाहिर छ।'
हैदरावादको यो इनिङ्सपछि मुम्बईको जवाफ पनि उत्कृष्ट रह्यो। रोहित शर्मा, इशान किशन, तिलक वर्मा, टिम डेभिडले उत्कृष्ट ब्याटिङ गरे। कप्तान हार्दिक पाण्ड्या २० बलमा २४ रन बनाएर आउट भए र उनको स्कोर आवश्यक रनरेट भन्दा धेरै पछाडि थियो।
खेलपछि पाण्ड्यालाई मुम्बईविरुद्ध प्रहार भएको २७७ रनको बारेमा सोध्दा उनले आफ्ना बलरले कुनै गल्ती नगरेको र खेलमा जे भयो त्यसमा आफू खुसी भएको बताए। यो साहसी जवाफ हुन सक्छ तर लगातार दुई पराजय पछि उनीहरुमाथि दबाब बढेको छ।
-बीबीसी हिन्दीमा प्रकासित सामग्रीको सम्पादित अंश।