आइपिएल क्रिकेट इतिहासमा सनराइजर्स हैदरावादले कीर्तिमानी योगफल तयार गरेको छ।
आइपिएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्ध हैदरावादले ३ विकेटको क्षतिमा २७७ रन जोडेको हो।
यो स्कोर आइपिएल इतिहासकै सर्वाधिक स्कोर हो। यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुने वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा जोडेको २६३ रन आइपिएलको सर्वाधिक स्कोर थियो।
बुधबार कीर्तिमानी स्कोर बनाउने क्रममा हैदरावादका त्रविस हेडले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन, अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन, एडिन मक्रमले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट ४२ रन र हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८० रन जोडे।
२७८ रनको लक्ष्य पछ्याएको मुम्बईले पनि आक्रामक ब्याटिङ गर्यो। मुम्बईले ५ विकेटको क्षतिमा २४६ रन जोड्दा ३१ रनले खेल गुमायो। दुवै इनिङ गरी ५२४ रन बनेको खेलमा मुम्बईका लागि तिलक बर्माले ३४ बलमा ६४ रन, टिम डेभिडले २२ बलमा नटआउट ४२ रन बनाए।