मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनको योगफल बनाएको थियो।
लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र १ चौका प्रहार गरि ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरि ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए।
सुदुरपश्चिमका नरेन साउदले २ विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए।
जवाफमा १ सय ६९ रनको लक्ष्य पाएको सुदुरपश्चिमले १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ११ रनमा सिमित भयो।
सुदुरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रनको योगदान दिए । लुम्बिनीका म्यान अफ द म्याच निर्मल गुरुङले ३ विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट लिए।
दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९० रनमा खुम्चियो।
मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन,अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रनको योगदान दिए । कर्णलीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए।
जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ। कर्णालीकालागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरि ३४ रन बनाउँदा अर्जुन घर्तीले १४ रन र रविद्यन्र शाहीले १२ रनको योगदान दिए। मधेशका रन्जित कुमारले ३ विकेट लिँदा हरिशैकर साहले २ विकेट लिए।
बिहीबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल काशी र मधेश प्रदेशविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साख बाबु कुरैसीले जानकारी दिए।