नेपाल, नामिबिया र नेदरल्यान्ड्स बीचको टी-२० सिरिज नेदरल्यान्ड्सले जितेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो।
फाइनलमा पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले पहिलो इनिङ्ग्सको मिडल अडरमा लगातार विकेट गुमाएकाले २ सय रन कटाउने लक्ष्य पूरा गर्न नसकेको बताए।
नेपालले आफ्नो योजना मैदानमा लागू गर्न नसकेकोले दबाबमा परेको मोन्टीको भनाइ छ।
‘अब हामीलाई आफ्नो योजना मैदानमा लागू गर्न यो अनुभवले सहयोग गर्छ,’ देसाइले भने, ‘हामीले नेदरल्यान्ड्ससँग राम्रै प्रतिस्पर्धा गर्यौं। नेदरल्यान्ड्स पनि ठूला टिमलाई हराएको टिम हो।’
अब नेपालले आइसिसी विश्वकप २०२४ को तयारी स्वरूप हङकङमा त्रिकोणात्मक सिरिज खेल्दैछ। हङकङमा सिरिज खेल्दा नेपाललाई आफ्नो ‘बेन्च बलियो’ बनाउन सजिलो हुने उनले बताए।
विश्वकपअघि नेपालले भारतका दुई रणजी टिमसँग र ओमानमा एसिसी प्रिमियर कप खेल्नेछ। त्यसैले नेपाली टिमलाई विश्वकपअघि परीक्षण गर्न पर्याप्त समय भएको प्रशिक्षक देसाइ बताउँछन्।
विशेषगरी मंगलबारको खेलमा नेदरल्यान्ड्सविरूद्ध मुख्य बलर अभिनास बोहराले राम्रो बलिङ गर्न नसकेको विषयमा उनले भने, ‘नामिबियासँग राम्रो खेलेकाले उनलाई टिममा मौका दिएका हौं।’
नेपालका कप्तान रोहितकुमार पौडेलले खेलमा नेपालका लागि १०-१५ रन कम भएको प्रतिक्रिया दिए।
‘१०-१५ रन कम भयो। जुन हिसाबले राम्रो सुरू गरेका थियौं, तर हामीले लगातार विकेट गुमाउँदा २ सय रन बनाउन सकेनौं,’ कप्तान पौडेलले भने।
उनले नामिबिया र नेदरल्यान्ड्सविरूद्धको सुरूवाती दुई खेलमा राम्रो ब्याटिङ गरे पनि फिनिसिङ गर्न चुके जस्तै मंगलबार पनि नेपालले त्यस्तै खेलेको बताए।
सिरिजमा पावर प्ले र डेथ ओभरमा नेपालले राम्रो बलिङ गर्न नसकेको बताउँदै यसबाट अनुभव मिलेको उनको भनाइ छ।
जेठमा हुने टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्। सिरिजमा नेदरल्यान्ड्ससँग तीन खेल खेल्दा नेपालले आफूले सुधार गर्नु पर्ने कुरा थाहा पाएको र विश्वकपमा सुधार गर्ने कप्तान रोहितले बताए।
फाइनलअघि करण केसी र अनिभास बोहराले राम्रो बलिङ गरे पनि फाइनलमा राम्रो गर्न नसकेको विषय चिन्ताको भएको उनको भनाइ छ।
‘अभिनासका लागि महत्वपूर्ण ओभरमा बलिङ गर्न सजिलो छैन। त्यो जिम्मेवारी उहाँले लिनुहुन्छ। अहिले राम्रो भएन, आउने खेलमा राम्रो गर्नुहुन्छ,’ रोहितले भने।
तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी