टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन चुकेका छन्।
असिफले तेस्रो विकेटको रुपमा आउट हुनुअघि ४७ रन जोडे। माइकल लेभिटको एलबिडब्लूको धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा भान डेरबाट एलबिडब्लूकै धरापमा परे। त्यतिबेला नेपालले १४.३ ओभरमा ४ विकेटको क्षतिमा १२८ रन जोडेको थियो।
त्यसअघि कप्तान रोहितकुमार पौडेल २५ रन जोडेर आउट भए। रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे। आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।
चौथो ओभरको तेस्रो बलमा डच बलर भान डेरलाई स्कुप सट प्रहार गर्ने क्रममा उनी बोल्ड भएका थिए। त्यतिबेला नेपालले २३ रन जोडेको थियो।
आउट हुनु अघिल्लो बलमा भुर्तेलले उस्तै सटमा छक्का प्रहार गरेका थिए। फेरि उस्तै सट खेल्ने क्रममा उनी आउट हुन पुगे।
उनी नेदरल्यान्ड्सविरुद्धको अघिल्लो खेलमा १२ रनमा आउट हुँदा त्यसअघिका दुई खेलमा डक आउट भएका थिए।
अर्का ओपनर आसिफ शेखले तेस्रो ओभरको पहिलो बलमा २ रनमा जीवनदान पाएका थिए। भिभियन किंग्माको प्रहारलाई हावामा उडाएपछि आसिफको क्याच माइकल लेभिटले मिस गरेका थिए।