तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि चौथो विकेट ललित राजवंशीले लिएका छन्।
उनले क्यानडाका नवनीद धलिवाललाई ५० रनमा आकास चन्दबाट क्याच गराए। आउट हुनुअघि उनले ८२ बलमा ४ चौका हिर्काए।
क्यानडाले २७ ओभरमा ४ विकेट गुमाउँदा १०१ रन जोडेको छ।
त्यसअघि कुशल मल्लले निकोलास किर्टोनलाई ३ रनमा आउट गरे। यस्तै आकास चन्दले दोस्रो विकेट लिए। उनले क्यानडाका श्रीमन्था विजेरत्नेलाई २२ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। यससँगै नेपालले क्याडनाको ४८ रनको साझेदारी तोड्यो।
नेपालले तेस्रो ओभरमै पहिलो विकेट लियो। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराए। खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।