प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी जितबिहीन हुनबाट जोगिएको छ।
आफ्नो अन्तिम नवौं खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि कोशी लगातार आठ खेलमा पराजित भएको थियो।
कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रनमा अलआउट भयो।
लुम्बिनीका लागि दिलसाद अलीले ३२ रन, विराट भण्डारीले २८ रन र सम्राट भुषालले २६ रन बनाए।
बलिङमा कोशीका सुजन घिमिरेले ३ विकेट लिए भने अभ्यास तिमिल्सिना र कमल खत्रीले २-२ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा अलआउट भयो।
कोशीका लागि कप्तान अंकित सुवेदी एक रनले अर्धशतक बनाउन चुके। उनले ६५ बलमा ९ चौकाको मद्दतमा ४९ रन बनाए। मिनास थापाले २५ रन जोड्दा सुजन घिमिरेले ४३ रनको योगदान गरे।
बलिङमा लुम्बिनीका नर सार्कीले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३८ रन दिए। वीर महरले ३ विकेट लिए भने अभिशेक गौतमले २ विकेट हात पारे।
अन्तिम खेलमा जित निकाले पनि कोशीले यस संस्करणको प्रतियोगिता अन्तिम स्थान अर्थात् दशौं स्थानमा रहेर समाप्त गर्यो। २ अंक जोडेको कोशी नवौं स्थानमा रहेको लुम्बिनीसँग रनरेटमा पछि छ। अन्तिम खेलअघि लुम्बिनीको पनि २ अंक छ।