आइसिसी यू-१९ विश्वकपअन्तर्गत अफगानिस्तानविरूद्धको समूह चरणको खेलमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो भने दुई विकेट बचेको थियो। त्यतिबेला नेपालका कप्तान देव खेलाडी डगआउटको छेउमा घुँडा टेकेर बसेका थिए। उनले टाउकोमा हात राख्दै चमत्कारका लागि भगवानसँग प्रार्थना गरिरहेका थिए।
'भगवानसँग प्रार्थना गरिरहेको थिएँ। किनभने हामीले पछिल्लो दुई महिनामा निकै कडा परिश्रम गरेका थियौं। विगत दुई महिनादेखि परिवारवाट टाढा रहदै सबैले कडा मेहनत गरेका थिए,' कप्तान खनालले आइसिसीको विशेष कुराकानीमा भनेका छन्।
अफगानिस्तानविरुद्ध १४६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्दै खनालले ८९ बलमा ५८ रन बनाएका थिए। नेपाललाई १८ रन आवश्यक हुँदा उनी अल्लाह मोहम्मद गजानफरको बलमा आउट हुन पुगेका थिए।
उनी आउट हुँदा नेपालको तीन विकेट मात्र बाँकी थियो। फरिदुन दाउदजाईले उत्कृष्ट बलिङ गर्दै सेट ब्याट्सम्यान दिपक बोहरा (२७) र आकास चन्द (१) लाई दुई ओभर भित्रमा आउट गरे। त्यतिबेला अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध खेलकै जस्तै बलिङ देखाएको थियो। अफगानिस्तानले दिएको ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ९ विकेट गुमाएर जित निकाल्न सकेको थियो।
नेपाललाई जितलाई एक रन चाहिएको अवस्थामा सुवास भण्डारीले संयम तरिकाले ब्याटिङ गरे। उनले ४५ ओभरको चौथो बलमा चौका प्रहार गरेपछि नेपालले एक विकेटको रोमाञ्चक जित निकाल्यो।
'हाम्रा लागि यो जित ठूलो छ। हाम्रो सपना साकार भयो। पछिल्लो दुई महिनादेखि यसको लागि तयारी गरिरहेका थियौं। हामीलाई थाहा थियो हामी यो गर्न सक्छौं। हामी यो स्तरमा पनि राम्रो क्रिकेट खेल्न सक्छौं भनेर विश्वास गर्छौं, र त्यो प्रमाणित गर्यौं। हामी उठ्यौं र क्यारेक्टर देखायौं,' खनालले भने।
खनालले अफगानिस्ताविरुद्ध पाँच विकेट लिएका आकास चन्दको पनि प्रशंसा गरे। अफगानिस्तानविरुद्ध पाँच विकेट लिएसँगै आकास यू-१९ विश्वकपमा नेपालका लागि पाँच विकेट लिने पहिलो तीव्र गतिका बलर भएका थिए।
'उनी सबैभन्दा मेहनती खेलाडी हुन्। ऊ सुरुमै बलिङ गर्छ र अन्तिममा पनि उसैले गर्छ। आकास यो प्रदर्शनका लागि योग्य छ, किनभने ऊ कति राम्रो बलर हो भन्ने हामीलाई थाहा छ,' खनालले आकासबारे भने, 'उसका लागि यो ठूलो प्रदर्शन हो। देशका लागि पाँच विकेट लिएकोमा उसको नाम सधैं आईसीसी पेजमा रहिरहन्छ।'
चन्द आफै पनि आफ्नो कडा परिश्रमले गर्दा नेपाली प्रशंसक र आमाबुबालाई खुसी दिलाउन सफल भएकोमा दंग छन्।
खेलमा प्येयर अफ दिन म्याचको अवार्ड जितेका चन्दले भने, 'म यस क्षणको लागि धेरै कृतज्ञ छु। नेपालमा सबैले हेरिरहेका थिए । मेरो भाइ, बहिनी र सम्पूर्ण परिवारले हेरेको थियो। निर्णायक खेलमा पाँच विकेट लिएर टोलीलाई जित दिलाउनु भन्दा ठूलो केही छैन। मेहनतले फल पाएको छु,’ चन्दले भने, 'नेपाली क्रिकेटरको हैसियतमा जहाँ पनि हामी खेल्छौं, संसारको हरेक कुनाबाट हामीले धेरै माया र समर्थन पाएकोमा म धेरै खुसी छु। सबैलाई धन्यवाद दिन चाहन्छु। समर्थकहरूमा मेरा आमाबुवाको माया देख्न चाहान्छु।'
अफगानिस्तानविरुद्धको जितसँगै सुपर-६ मा पुगेको नेपालले बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ।