प्रधानमन्त्री कपमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले फाइनल पुग्ने सम्भावना जीवित नै बनाएको छ।
मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेसँगै एपिएफले दोस्रो स्थानमा रहेर फाइनल खेल्ने सम्भावना जीवित नै राखेको हो। तर त्यसका लागि एपिएफले कर्णाली प्रदेशलाई पराजित गर्नु पर्नेछ। यतिले मात्र एपिएफको फाइनल यात्रा सम्भव हुँदैछ। गण्डकीसँग आर्मीको हारको कामना गर्दै रनरेटमा अघि रहनु पर्छ।
अन्तिम खेलअघि एपिएफको १० अंक छ भने आर्मीको १२ अंक छ। शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लब १४ अंक जोडेर दुई खेलअघि नै फाइनलमा पुगिसकेको छ।
मंगलबार सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पूरा गर्न १४.१ ओभरमा ७ विकेट गुमायो। एपिएफका लागि सन्दीप जोराले नटआउट १८ रन जोडे। बलिङमा सुदूरका दिपक चन्दले ४ विकेट लिँदा नरेन साउदले ३ विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूर १६.२ ओभरमा ८७ रनमा अलआउट भयो। उसका लागि नारायण जोशीले नटआउट ३१ रन जोडे। अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा एपिएफमा डेब्यू गरेका चन्दन रामले ५ विकेट लिए। उनले ७ ओभरमा ५१ रन खर्चिए। भुवन कार्कीले ३ विकेट र रोहित पौडेलले २ विकेट लिन सफल भए।