प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र एपिएफ विजयी भएका छन्।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.२ ओभरमा १०६ रनमै अलआउट भयो।
उसका लागि सुसान्त थापाले २८ रन जोडे। बलिङमा बागमतीका सूर्य तामाङले ६ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा २६ रन खर्चिए। यस्तै विपिन आर्चायले २ विकेट लिए।
१०७ रनको लक्ष्य बामगतीले १७.२ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। उसका लागि इशान पाण्डेले ५० रन जोडे।
यता एपिएफले गण्डकी प्रदेशलाई ८८ रनले पराजित गर्यो। मुलपानीमा पहिले ब्याटिङ गरेको एपिएफ ४७.२ ओभरमा २०७ रनमा अलआउट भयो। एपिएफका लागि लोकेश बम ५० रन, भुवन कार्कीले ४५ रन र प्रदीप ऐरीले ३९ रन जोडे।
बलिङमा गण्डकीका कमल परियारले ३ विकेट लिए।
२०८ रनको लक्ष्य पछ्याएको गण्डकी ३३.४ ओभरमा ११९ रनमा अलआउट भयो। उसका लागि ओपनर समीर कँडेलले ३३ रन जोडे।
बलिङमा एपिएफका अमरसिंह रटेउलाले ४ विकेट लिँदा मौसम ढकालले ३ विकेट लिए। अंक तालिकामा बामगतीले १२ अंक जोडेको छ। सबै खेल खेलिसकेको बागमती दोस्रो स्थानमा छ। एपिएफ भने ८ अंकसहित छैटौं स्थानमा छ। लुम्बिनी २ अंकसहित नवौं र गण्डकी ४ अंकसहित आठौं स्थानमा छन्।