प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अंक तालिकाको शीर्ष तीनमा रहेका तीन टिमको समान अंक भएको छ।
आज भएको खेलमा बागमती प्रदेश र मधेस प्रदेशले जित निकालेपछि दुवैले अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेका हुन्।
शीर्ष स्थानको पुलिसको ५ खेलबाट १० अंक छ। बागमतीले ८ खेलबाट १० अंक जोड्दा मधेसको पनि समान खेलबाट १० अंक नै छ।
बागमतीले मुलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको बागतमीले ९ विकेटको क्षतिमा २४७ रन जोडेको थियो। उसका लागि आशुतोष घिराइयाले ५४ रन र कप्तान रित गौतमले ४४ रन जोडे। बलिङमा सुदूरका शेर मल्ल र नारायण जोशीले ३-३ विकेट लिए।
२४८ रनको लक्ष्य पछ्याएको सुदूर ३०.३ ओभरमा १५० रनमा अलआउट भयो। उसका लागि नरेश भट्ट र किरण ठगुन्नाले समान ४१-४१ रन जोडे।
बलिङमा बागमतीका सूर्य तामाङ र विपिन आर्चायले ३-३ विकेट लिए।
यता कीर्तिपुर मैदानमा मधेसले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको मधेसले अनिल साहको १२७ रनको शतकीय पारीमा ३३५ रनको विशाल योगफल खडा गर्यो। अनिलले १२५ बलमा ११ चौका र ६ छक्का हिर्काए। पवन सर्राफले ४० रन र अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ६३ रन जोडे।
बलिङमा गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए। ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रनमै अलआउट भयो। उसका लागि इश्वर क्षेत्री र कमल परियारले २७-२७ रन जोडे।
बलिङमा मधेसका रंजित कुमारले ४ विकेट र हरिशंकर साहले ३ विकेट लिन सफल भए।
यता आजै भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। एपिएफ ६ अंक जोडेर छैटौं स्थानमा छ। लुम्बिनी भने २ अंक जोडेर पुछारबाट दोस्रो नवौं स्थानमा छ।