प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले चौथो जित हात पारेको छ। बुधबार भैरहवामा २६ ओभरमा झारिएको खेलमा आर्मीले घरेलु टिम लुम्बिनीलाई ६५ रनले पराजित गर्यो।
टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २६ ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो।
आर्मीका लागि इमरान शेखले नटआउट ६७ रन जोडे। बलिङमा लुम्बिनीका मोहमद हुसेन र नर सार्कीले २-२ विकेट लिए।
१७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १०५ रन मात्र जोड्न सक्यो। लुम्बिनीका लागि कृष्ण कार्कीले नटआउट ३५ रन जोडे।
बलिङमा आर्मीका कुशल मल्लले ४ विकेट लिए। उनले ६ ओभरमा २ मेडन राख्दा ११ रन मात्र दिए।
जितसँगै आर्मी ८ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको नेपाल पुलिस क्लबको १० अंक छ भने दोस्रो स्थानको सुदूरपश्चिमको ८ अंक छ।