प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब लगातार तीन खेलमा पराजित भएको छ। सुरुवाती दुई खेलमा जित निकालेपछि एपिएफले लगातार हार बेहोरेको हो।
मंगलबार भैरहवामा भएको खेलमा एपिएफमाथि त्रिभुवन आर्मी क्लबले ४ विकेटको जित निकाल्यो। आर्मीको भने यो पाँच खेलमा तेस्रो जित हो।
एपिएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सबैभन्दा बढी नटआउट ३४ रन जोडे। उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे।
बासिर अहमेदले १८ रनमा जोडे भने अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा एपिएफका रमेश कुर्मीले २ विकेट लिए।
त्यसअघि टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ निर्धारित ३६ ओभरको खेलमा ३२.४ ओभरमा १२१ रनमै अलआउट भयो।
एपिएफका लागि कप्तान रोहित पौडेलले ५९ रन जोडे। उनले १०३ बल खेल्दा समान २-२ चौका र छक्का हिर्काए।
एपिएफका ओपनर प्रज्वल शाही गोल्डन डट आउट हुँदा प्रदीप ऐरी ६ रन र पुरन विक ३ रनमा आउट भए। सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि एपिएफ दबाबमा परेको थियो।
बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने अभिनास कर्णले २ विकेट हात पारे।