प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको अपराजित यात्रा कायमै छ।
आइतबार भैरहवामा भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको हो। पुलिसले लगातार तीन खेलमा जित निकाल्दा आर्मी भने चार मध्ये दुई खेलमा पराजित भइसकेको छ।
३३ ओभरमा घटाइएको खेलमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिस ३१.१ ओभरमा १४० रनमा अलआउट भयो।
पुलिसका ओपनर कुशल भुर्तेल गोल्डेन डक भए पनि अर्का ओपनर सुनील धमलाले ५२ रन जोडे।
बलिङमा आर्मीका सोमपाल कामीले ४ विकेट लिए। उनले ६ ओभरमा ३ मेडन राख्दा १२ रन मात्र दिए।
१४१ रनको लक्ष्य पछ्याएको आर्मी ४ बल खेल्न बाँकी छदा १२७ रनमै अलआउट भयो।
आर्मीका लागि भीम सार्कीले ७६ बलमा ६ चौकाको मद्दतमा ५२ रन र कुशल मल्लले ३५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेनन्। किनभने आर्मीका सुरुवाती तीन ब्याट्सम्यानसहित चार ब्याटर शून्यमा आउट भए। यस्तै थप पाँच ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा पुलिसका सागर ढकाल र ललित राजवंशीले ३-३ विकेट लिए। यस्तै रशिद खानले २ विकेट हात पारे।