आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको विश्वकपको समूह 'डी' को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
सुरुवाती तीन विकेट गुमाए पनि न्युजिल्यान्डका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय स्नेहिथ रेडी र कप्तान ओस्कार ज्याक्सनले अर्धशतक प्रहार गरेका छन्। न्युजिल्यान्डले ३७ ओभरसम्ममा ३ विकेटको क्षतिमा १८१ रन जोडिसकेको छ।
पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो।
नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे।
१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए।
स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए।