आइसिसी यू-१९ विश्वकप अन्तर्गत नेपाल रहेको समूह ‘डी’ को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो अन्तरको जित निकालेको छ।
शनिबार दक्षिण अफ्रिकामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा २८४ रन जोड्यो।
पाकिस्तानका लागि ओपनर शाहजाइब खानले शतक प्रहार गरे। उनले १०६ रनको योगदान गरे। १२६ बलमा खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे।
कप्तान शाद बाइगले ५५ रन बनाए भने रियाज उल्लाहले ४६ रनको योगदान गरे।
बलिङमा अफगानिस्तानका खलिल अहमेदले ४ विकेट लिन सफल भए।
२८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमै अलआउट भयो। अफगानिस्तानका लागि नुमन शाहले सबैभन्दा बढी २६ रन जोडे।
बलिङमा पाकिस्तानका उबाद शाहले ४ विकेट लिए। मोहमद जिशानले ३ विकेट लिन सफल भए।
समूहमा नेपाल र न्युजिल्यान्डबीच भोलि प्रतिस्पर्धा हुँदैछ।