प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आशुतोष घिरोइयाको शतक र इशान पाण्डेको पाँच विकेटमा बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गराएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमतीले कोशी प्रदेशविरूद्ध ६४ रनको जित निकालेको छ। कोशी भने लगातार पाँच खेलमा पराजित भयो।
बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २०९ रनमा अलआउट भयो।
कोशीका कप्तान अंकित सुवेदीले ५३ रन र सुजन थपलियाले ५९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। अन्तिमसम्म ब्याटिङ रहेर नटआउट ३२ रन जोडेका आइश भट्टराईले पनि कोशीको उद्दार गर्न सकेनन्।
कोशीलाई रोक्ने क्रममा बागमतीका इशान पाण्डेले ५ विकेट लिए। उनले ८ ओभरमा ३९ रन दिए। सूर्य तामाङले २ विकेट लिए भने रिजन ढकाल र प्रतिक श्रेष्ठले १-१ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४८.३ ओभरमा २७३ रनमा अलआउट भयो।
बागमतीका लागि ओपनर आशुतोष घिरोइयाले ११८ रन जोडे। उनले १११ बलमा १६ बलमा र २ छक्का प्रहार गरे। उनको यो घरेलु क्रिकेटमा पहिलो शतक हो। जारी प्रधानमन्त्री कपमा भने यो पाँचौ शतक हो। यसअघि कोशीका सुजन थपलिया, आर्मीका विनोद भण्डारी, एपिएफका सन्दीप जोरा र पुलिसका रशिद खानले शतक प्रहार गरेका थिए।
शुक्रबार बागमतीका लागि कप्तान रित गौतम एक रनले अर्धशतक बनाउन चुके। उनले ६० बलमा ३ चौकाको मद्दतमा ४९ रन जोडे भने रविन जोशीले ४३ रन बनाए।
बलिङमा कोशीका अभ्यांस तिमिल्सिनाले ३ विकेट लिए भने कमल खत्री र हेमन्त राईले २-२ विकेट हात पारे।
जितसँगै बागमती ५ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। कोशी भने अंकबिहीन रहँदै पुछारमा छ।