आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले अवरुद्ध भएको छ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो।
वेस्ट इन्डिजले ८.३ ओभरमा ३३ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झाले एक विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरूद्ध भएपछि खेल रद्द गरिएको थियो।
विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् भने नेपाल समूह 'डी' मा छ।
सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकपअघि आइसिसीले १६ वटै टिमका कप्तानसँग कुराकानी गरेको छ। जसमा नेपालका कप्तान देव खनालले नेपालमा क्रिकेट क्रेज बढी भएको भन्दै नेपाली समर्थकको प्रशंसा गरे।
'नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा छ। हामीसँग नेपालमा ठूलो फ्यानबेस छ र उहाँहरूको कारणले गर्दा हामी सधैं उत्प्रेरित हुन्छौं। क्रिकेट क्रेज बेजोड छ। हामी खेलाडीको रुपमा जितेर खुसी दिन चाहन्छौँ,' उनले आइसिसीसँग भनेका छन्।
यस्तै उनले अरु १५ टिमका कप्तानसँग भेट्दा धेरै खुसी लागेको तथा दक्षिण अफ्रिकाका बलर एनरिच नोर्कियासँग भेटेर उनको अनुभव सुनेको पनि बताए।
एक साताअघि नै दक्षिण अफ्रिका पुगेको नेपालले दुई वटा अनौपचारिक र एक औपचारिक अभ्यास खेल खेलिसकेको छ। तीनै खेलमा नेपाल विजयी भएको छ।
नेपालले अनौपचारिक खेलमा नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो। शनिबार भएको औपचारिक खेलमा नेपालले डिएलएस मेथडमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द