प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।
भैरहवामा भएको खेलमा गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा ३३.२ ओभरमा पूरा गर्यो।
कर्णालीका लागि हिमांशु शाहीले ५३ रनको योगदान गरे। उनले ७१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
बलिङमा गण्डकीका अंकित न्यौपानेले २ विकेट लिए।
त्यसअघि टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १२२ रन मात्र जोड्न सक्यो। उसका लागि सुरुवाती पाँच ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् भने अमृत गुरुङ र कमल परियारले २१-२१ रन जोडे।
बलिङमा कर्णालीका अनुज चनरा, दिनेश अधिकारी र दिपेन्द्र रावतले २-२ विकेट लिए।
प्रतियोगितामा कर्णालीले पहिलो खेलमा जित निकालेको हो भने गण्डकी लगातार दोस्रो खेलमा पराजित भएको हो।