आइसिसी क्रिकेट विश्वकपको फाइनलमा आइतबार घरेलु टिम भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया छैटौं पटक च्याम्पियन बन्यो।
फाइनल खेलमा भारतीय टोलीले २४० रन बनाएको थियो। ट्राभिस हेडको शतकमा अस्ट्रेलियाले ४३ ओभरमै ४ विकेट गुमाएर जित निकाल्यो।
खेलको सुरुवातमा भारतका राम्रो ब्याटिङ गरेको थियो। भारतीय कप्तान रोहित शर्माले आक्रामक सुरुवात गरेका थिए।
३० रन बनाउदा ओपनिङ पार्टनर शुभमन गिल पाँचौं ओभरमा आउट भए पनि रोहितले आक्रामक ब्याटिङ कायम राखेका थिए।
रोहितले १०औं ओभरको दोस्रो र तेस्रो बलमा छक्का र चौका प्रहार गरेका थिए। भारतको ७६ रन थियो भने रनरेट आठ भन्दा माथि थियो ।
सो ओभरमा ग्लेन म्याक्सवेल बलिङ गर्दै थिए र यो पावरप्लेको अन्तिम ओभर पनि थियो, त्यसैले रोहित फेरि ठूलो शट खेल्न चाहन्थे। तर, धेरैले रन रेटलाई ध्यानमा राख्दै त्यो शटको आवश्यकता नै थिएन भन्दै आलोचना गरिरहेका छन्।
रोहितको यो शटमा खेलको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्यो। अन्ततः त्यो शर्ट नै टोलीको हातबाट विश्वकप गुम्नुको सबैभन्दा ठूलो कारण बन्यो।
म्याक्सवेलले रोहितलाई राम्रो लेन्थ बल दिए। तर बल रोहितको ब्याटको किनारमा लागेर कभर क्षेत्रमा हावामा उड्यो।
पोइन्टमा उभिएका ट्राभिस हेडले त्यहाँबाट पछाडि दौडन थाले र असम्भव देखिने क्याच लिएर रोहितलाई आउट गरे। त्यहिँ उत्कृष्ट क्याचबाट अस्ट्रेलियाले खेललाई नियन्त्रणमा लिन सफल भएको थियो।
ट्राभिस हेड यस विश्वकपको सुरुमै घाइते भएका थिए। फिट भएर टिममा फर्किएपछि उनले ५९ बलमा शतक प्रहार गरी न्युजिल्यान्डविरुद्ध जित दिलाएका थिए। यसपछि सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध उनले अर्धशतक प्रहार गरे। फाइनलमा उनले १३७ रन बनाएर आफ्नो टिमलाई जित दिलाए। कीर्तिमानी शतक बनाएर ‘प्लेयर अफ द म्याच’ पनि बने।
खेलपछि भारतका पूर्वक्रिकेटर सुनिल गावस्करले रोहित शर्माको क्याच फाइनलको टर्निङ प्वाइन्ट भएको स्वीकार गरे।
फाइनल हुनुभन्दा एक दिनअघि अस्ट्रेलियाका कप्तान पाट कमिन्सले आफ्नो टोलीले अहमदाबादमा दर्शकलाई मौन राख्नु पर्ने बताएका थिए र रोहित शर्मालाई आउट गरेपछि पनि त्यस्तै भएको थियो।
खेलपछि भारतीय प्रशिक्षक राहुल द्रविडले पनि रोहितको विकेट झर्नु दुर्भाग्यपूर्ण भएको बताए।
रोहितपछि लगत्तै अर्को ओभरमा श्रेयस अय्यर आउट भएपछि भारतीय टोलीले अर्को १६ ओभरमा कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेन र ८ भन्दा माथि रहेको रनरेट प्रति ओभर करिब पाँच रनमा झरेको थियो।
विराट कोहली आउट भएपछि सूर्यकुमारको स्थानमा आएका रविन्द्र जडेजाले ४०.९० को स्ट्राइक रेटमा २२ बलमा ९ रन मात्र बनाउन सक्दा रनको गति झनै सुस्त भएको थियो।