आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्डसलाई ४११ रनको लक्ष्य दिएको छ।
लिग चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेल्दै ४ विकेटको क्षतिमा ४१० रन बनाएको हो।
बैंग्लुरुको चिन्नास्वामी इन्टरनेशनल क्रिकेट स्टेडियममा नेदरल्याण्डविरूद्ध फराकिलो योगफल तयार पार्न भारतका श्रीयास ऐयर र केएल राहुलले शतकीय योगदान गरे।
ऐयरले नट आउट १२८ रन बनाउन ९४ बलमा १० चौका र ५ छक्का हाने। केएल राहुलले ६४ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए।
त्यस्तै कप्तान रोहित शर्माले ६१ रन, शुभमन गिलले ५१ रन र विराट कोहलीले ५१ रन बनाए।
नेदरल्याण्डका बास दे लिडले २ विकेट तथा पउल भान मिकेरेन र रोलोफ भान डेर मेर्वीले एक/एक विकेट लिए।
भारतले समूहको शीर्ष स्थान रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। यसपालि लिग चरणको ८ खेल खेलिसक्दा भारत अविजित छ।
नेदरल्याण्ड्स अंक तालिकाको पुछारमा छ। उसले ८ खेलमध्ये २ खेलमा मात्रै जित हात पारेको छ।