अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेटको आयोजकबारे अन्योल बढेको छ।
श्रीलंकामा आयोजना हुने तय भएको युवा विश्वकप निलम्बन फुकुवा नभए आयोजना अधिकार खोसिने श्रीलंका क्रिकेटका अध्यक्ष शम्मी सिल्भाले चेतावनी दिएका छन्।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
क्रिकेटको चर्चित वेभपोर्टल इएसपिएन क्रिकेइन्फोका अनुसार आइसिसीले यू-१९ विश्वकपबारे अहिले कुनै पनि निर्णय गरेको छैन। आइसिसीले नोभेम्बर २१ मा आइसिसीको बोर्ड बैठकमा मात्र प्रतियोगिता आयोजक गर्नेबारे छलफल गर्नेछ।
यसअघि आइसिसीले श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै शुक्रबार निलम्बन गरेको थियो।
क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो। मन्त्रीले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाउँदै आएका छन्। जसका कारण मन्त्रालयले क्रिकेट श्रीलंकालाई बर्खास्त गरेको थियो।