जनता समाजवादी पार्टीका संसाद प्रदीप यादवले वीरगञ्जको नारायणी रंगशालालाई पनि राष्ट्रिय गौरवको आयोजनामा सामवेश गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छ्न्।
यादवले आज ध्यानाकर्णण पत्र प्रधानमन्त्री कार्यालयलाई पठाएका छन्।
यसअघि बिहीबार मन्त्रिपरिषदले मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र मोरङको गिरिजाप्रसाद रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो।
‘तर वीरगञ्जको ऐतिहासिक नारायणी रंगशालासँग विभेद किन? काठमाडौँको दशरथ रंगशालासँगै निर्माण भएको नारायणी रंगशाला अझै पुनःनिर्माणको लागि सरकारको पर्खाइमा छ। नारायणी रंगशाला एउटा आधुनिक एवम् व्यवस्थित रंगशाला बन्न सक्ने सामर्थ्य राखेको छ। मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रंगशाला किन सङ्घीय सरकारको नजरमा पर्न सकेन?,’ यादवको प्रश्न छ।
२०४२ सालमा स्थानीयको जनसहयोगबाट निर्माण भएको रंगशाला अहिले जीर्ण बनेकोछ। खेल मैदानमा घाँसहरू उम्रिएका छन् र दर्शक बस्ने ठाउँ भत्किसकेको छ। हालसम्म यसलाई स्थानीय सरकार र वीरगञ्जवासीले आफ्नो प्रयासले जोगाएर राखेको सांसद यादवको भनाइ छ।
‘असङ्ख्य अवसर र सम्भावनाहरू बोकेको रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा वीरगञ्जवासीले आफूसँग विभेद भएको महसुस गरिरहेका छन्। सयौँ वर्षदेखि विभेदमा पर्दै आएका वीरगञ्जवासीले सङ्घीयता स्थापना पश्चात् विभेदको अन्त्य हुने अपेक्षा गरेका थिए, यद्यपी वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको उनीहरूले महसुस गरिरहेका छन्। उनीहरू देशका अन्य स्थानलाई प्राथमिकतामा राख्दा सरकारले वीरगञ्जसँग गरेको उपेक्षाको कारण खोजिरहेका छन् । सम्पूर्ण वीरगञ्जवासीको प्रश्न छ– “सरकारले नै विभेद गर्दा जनता कहाँ जाने?,’ उनको ध्यानकर्षण पत्रमा भनिएको छ।