नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी नवनियुक्त कप्तान इन्दू बर्माले नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति, छनोट समिति र सम्पूर्ण व्यवस्थापकीय टिमलाई धन्यवाद दिएकी छिन्।
उनले नयाँ जिम्मेवारीले अझ धेरै उर्जा र लगन थपिएसँगै अझ धेरै जिम्मेवारी बोध भएको पनि बताएकी छिन्।
‘नेपाली महिला क्रिकेटको भविष्यलाई विशेष प्राथमिकतामा राखेर गर्नु भएको यहाँहरुको यस महत्वपूर्ण निर्णयलाई आत्मसात गर्दै महिला टोलीलाई चाहिएको उचित नेतृत्वकारी भूमीका दिन हरदम तत्पर रहेको विश्वास दिलाउन चाहान्छु,’ उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्।
साथै नेपाली पुरुष टिम जतिकै माया महिला टिमलाई पनि मिल्ने विश्वास गरेकी छिन्।
यसअघि क्यानले बर्मालाई बिहीबार कप्तान नियुक्त गर्ने निर्णय गरेको थियो। दश वर्षभन्दा लामो समय नेपाली टिमको कप्तानी गरेकी रुबिना क्षेत्रीको स्थानमा बर्मालाई कप्तान नियुक्त गरिएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि बिहीबार १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गर्दै नयाँ कप्तान तोकेको थियो।
नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।
प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन्। नेपालले पहिलो खेल कात्तिक २९ मा तान्जानियासँग खेल्नेछ। दोस्रो खेल कात्तिक ३० मा हङकङ र समूहको अन्तिम खेल जापान मंसिर २ मा हुनेछ। शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
नेपाली टिम
इन्दू बर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमू बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन।