भारतका युवा ब्याटर शुभमन गिल आइसिसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन्। उनी पाकिस्तानका बाबर आजमलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन्।
आइसिसी क्रिकेट विश्वकपमा उत्कृष्ट ब्याटिङ गरेका गिलले गत साता श्रीलंकाविरुद्ध ९२ र दक्षिण अफ्रिकाविरुद्ध २३ रनको योगदान दिएका थिए। उनले प्रतियोगितामा ६ इनिङ्समा कुल २१९ रन बनाएका छन्।
बाबरले विश्वकपमा आठ खेलमा कुल २८२ रन बनाएका छन् र गिलभन्दा ६ रेटिङ पोइन्ट तल झरेर दोस्रो स्थानमा पुगेका छन्।
तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्वान्टन डि कक छन् भने चौथो स्थानमा भारतका विराट कोहली छन्। पाँचौ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर र छैटौं स्थानमा भारतका रोहित शर्मा छन्।
यता बलरको वरीयतामा भारतका मोहमद सिराज छन्। दोस्रो स्थानमा दक्षिण अफ्रिका केशव महाराज, तेस्रो स्थानमा अस्ट्रेलियाका एडम जाम्पा, चौथो स्थानमा भारतका कुलदिप यादव र पाकिस्तानका शाहीन अफ्रिदी पाँचौ स्थानमा छन्।