बल र बुद्धिका साथ खेल कौशल प्रदर्शन गर्ने खेलाडी कमै हुन्छन्। यदि कसैले बल र बुद्धिको साथ खेल्छ भने उसले चमत्कार गर्न सक्छ। त्यस्तै चमत्कार मंगलबार अस्ट्रेलियन ब्याटर ग्लेन म्याक्सवेलले मुम्बईको वानखेडे रंगशालामा गरे।
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तानविरूद्ध उनले गरेको प्रदर्शन अहिले क्रिकेटबृत्तमा चर्चा भइरहेको छ।
घाइते हुँदा पनि खेलेर उनले देखाएको साहसलाई धैरेले प्रशंसा गरिरहेका छन्।
उभिनै नसक्ने अवस्थामा उनले निरन्तर उत्कृष्ट शट खेलेका थिए। चौका/छक्का प्रहार गरिरहदा उनी न त दौडने अवस्थामा थिए न त बल खेल्दा उनको खुट्टामा कुनै हलचल नै थियो।
क्रिजमा उभिएर म्याक्सवेलले इतिहास रच्दै दोहोरो शतक हिर्काउँदै अस्ट्रेलियालाई सेमिफाइलनमा पुर्याए। उनी अन्तिम सय रन बनाउदा खासै दौडिएनन्, चौका र छक्का मात्र प्रहार गरे। मैदानमा ब्याटिङ गरिरहदा उनले पीडासँग संघर्ष गरेका थिए।
म्याक्सवेलले आफ्नो साहसीक ब्याटिङले अस्ट्रेलियालाई हारबाट मात्र जोगाउनन्, १२८ बलमा २०१ रनको अविजित इनिङ खेल्दै इतिहासमा आफ्नो नाम पनि दर्ता गराए।
यस इनिङ्समा म्याक्सवेलले पहिलो सय रनमा १० चौका र तीन छक्का प्रहार गरेका थिए। त्यसपछिको १०१ रनका लागि म्याक्सवेलले सात छक्का र ११ चौका प्रहार गरे।
उनले अफगानिस्तानका तीव्र गतिका बलर र स्पिन बलरलाई मात्रै आक्रमण गरेनन्, पीडा र असहजताको क्षणलाई आफूमाथि हावी हुन दिएनन्।
२०१ रनको अपराजित पारी विश्व क्रिकेटमा छैटौं वा त्योभन्दा तल्लो नम्बरका ब्याट्सम्यानका लागि अहिलेसम्मकै उच्च स्कोर हो।
म्याक्सवेल एकदिवसीय क्रिकेटमा ओपनिङ नगरी दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान समेत बने।
अहिलेसम्म एकदिवसीय क्रिकेटमा सबै दोहोरो शतक ओपनरको नाममा थियो। यति मात्र होइन एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाका ब्याट्सम्यानले दोहोरो शतक बनाएको यो पहिलोपटक हो।
उन सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमान बनाउन मात्र दुई बल पछि पारे। भारतका इशान किशनले १२६ बलमा यो उपलब्धि हासिल गरेका थिए भने म्याक्सवेलले १२८ बल खेले।
एकदिवसीय क्रिकेटमा रन पछ्याउँदै गरेको यो पहिलो दोहोरो शतक हो ।
अफगानिस्तानविरुद्धको खेलमा म्याक्सवेल ब्याटिङ गर्न आउँदा अफगानिस्तानका अजमातुल्लाहले नवौं ओभरको पहिलो दुई बलमै दुई विकेट लिएका थिए ।
यस्तो अवस्थामा म्याक्सवेलमाथि ह्याट्रिक बचाउने दबाब थियो र उनी जोगिए।
अस्ट्रेलियाले चार विकेट गुमाएर ४९ रन बनाएको थियो र म्याक्सवेलले आफ्नो इनिङ्स सुरु गरेका थिए।
उनी मैदानमै रहँदा अफगानिस्तान दिएको २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको स्कोर ७ विकेटको क्षतिमा ९२ रन मात्र थियो।
पूरै रंगशालामा अफगानिस्तानको टोलीलाई बलियो समर्थन थियो र अफगानिस्तान यस विश्वकपको सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा निकाल्नतर्फ अघि बढेको थियो।
म्याक्सवेल २६ रनमा खेलिरहेका थिए। टोलीका कप्तान प्याट कमिन्स म्याक्सवेलसँगै ब्याटिङ गर्न थाले।
यस क्रममा एकपटक स्क्वायर लेगमा र अर्कोपटक मिडअफमा उनको क्याच मिस भएको थियो। उनले ७६ बलमा शतक पूरा गरे। त्यतिबेला कमिन्सले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन्।
शतकपछि उनले बायाँ खुट्टामा क्र्याम्प महसुस गरे र टिम फिजियो मैदानमै आउनुपर्यो। त्यतिबेला अस्ट्रेलियाको टोली जितबाट करिब सय रन टाढा थियो ।
बायाँ खुट्टाको समस्या भएपछि म्याक्सवेल धेरै पटक मैदानमा सुतेका थिए।
एक समय यस्तो आयो जब उनी रन लिँदा मैदानमा मात्रै लडेका थिएनन्, क्रिजमा पुगेपछि पीडामा परेको जस्तो देखिन्थ्यो। उनलाई यहाँबाट उभिन पनि गाह्रो भयो ।
४१औं ओभरमा म्याक्सवेललाई स्ट्रेचर लिएर बाहिर जानुपर्छ भन्ने लाग्थ्यो तर म्याक्सवेल फेरि आफ्नो खुट्टामा उभिए। त्यसपछि ब्याटिङ गर्न आएका एडम जाम्पा पेभिलियन फर्खिए। त्यसपछि उनले विस्तारै खेल्दै कमिन्ससँग नटआउट २०२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई ३ विकेटको जित दिलाए।
२०१०-११ मा उनले अस्ट्रेलियाको घरेलु क्रिकेटमा १९ बलमा सबैभन्दा छिटो अर्धशतक बनाएर सनसनी मच्चाएका थिए। त्यसको केही समयमै उनले एकदिवसीय टोलीमा स्थान बनाउन सफल भए।
घरेलु मैदानमा खेलेको २०१५ को विश्वकपमा उनले श्रीलंका विरुद्ध मात्र ५१ बलमा शतक बनाए, जुन त्यसबेला अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो शतक थियो।
क्रिकेटको प्रारम्भिक वर्षमा उनको एउटै पहिचान थियो। उनी जुनसुकै बलमा जुनसुकै शट खेल्न सक्ने ब्याट्सम्यानको रुपमा परिचित हुँदै गए।
तर यी नियमितबाहेक शट खेल्नु उनको सबैभन्दा ठूलो कमजोरी बनेको थियो र ती शट खेल्दा उनी जुनसुकै बेला आउट हुन सक्छन् भन्ने विश्वास गरिएको थियो।
धेरै खेलमा बेतुका शट खेलेकोमा उनको आलोचना समेत भएको थियो।
२०१५ को विश्वकपपछि लगातार एकदिवसीय खेलमा औसत दसभन्दा कम हुँदा उनी टोलीबाट बाहिरिन बाध्य भए।
तर म्याक्सवेलले आफ्ना साथी खेलाडीबाट पनि समर्थन पाए अनि मानसिक चिकित्सकबाट सल्लाह लिए। यी सबैले फाइदा भयो र उनी ६ महिनापछि क्रिकेट मैदानमा फर्किए ।
तर उनको ब्याटिङ नियमित रुपमा चल्न सकेन। उनको ब्याटिङ स्ट्राइक रेट १२७ भन्दा बढी भए पनि १३६ खेलमा उनको ब्याटिङ औसत ३६ पनि छैन।
एकदिवसीय क्रिकेटमा उनले चार शतक प्रहार गरेका छन् भने अहिलेसम्म चार हजार रन पूरा गरेका छैनन्।
आइपिएलमा उनी करोडौं रुपैयाँमा टिममा आबद्ध भए। उनी किंग्स इलेभेन पञ्जाब, मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरको टोलीको हिस्सा भइसकेका छन्। तर आइपिएलमा उनको इनिङ्स यादगार बन्न सकेको छैन ।
द क्रिकेट मन्थलीले सन् २०१७ मा ग्लेन म्याक्सवेलको म्याड म्याक्सी लेख उनका परिचितसँगको कुराकानीका आधारमा तयार गरिएको थियो। सो लेखमा उनको उथलपुथलपूर्ण करिअरपछि पनि परिवर्तन नभएको एउटा कुरा म्याक्सवेलको खेल्ने शैली भनेर उल्लेख थियो।
-बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद।